काठमाडौँ – अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई धम्की दिएको छ ।
विदेश मन्त्रालयले रुसी राष्ट्रपति पुटिनलाई तत्काल रक्तपात अन्त्य गर्न भन्दै धम्की दिएको हो । युक्रेनी भूभागबाट आफ्ना फौज फिर्ता गर्न अमेरिकाले चेतावनी दिदै धम्क्याएको हो ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पुटिनलाई सो आह्वान गरेको हो ।
विज्ञप्तिमा रसियाले स्वतन्त्र समाचार आउटलेटहरूमा पहुँच रोकेर ‘मिडिया स्वतन्त्रता र सत्यमा पूर्ण आक्रमण’ गरेको आरोप पनि लगाएको छ ।
रुसको ट्विटर, फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालका प्लेटफर्महरूमाथि छुरी धसेकोसमेत अमेरिकाले आरोप लगाएको छ ।
रुसी सेनाले युक्रेनको एउटा सहरलाई कब्जा गरेको दर्जनौँको मृत्यु भएको विवरण सार्वजनिक भइरहेका बेला अमेरिकाले विज्ञप्ति जारी गरेको हो ।
युक्रेनमाथि रुसले आक्रमण गर्न थालेको पाँचौँ दिनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मित्र राष्ट्रहरुको सहयोग मागेका थिए । युक्रेनले सहयोग मागेपछि अमेरिकाले मुख खोलेको हो ।
उनले २४ घण्टाभित्र रुसले राजधानी कब्जा गर्ने भन्दै विभिन्न देशहरुसँग सहयोग मागेका थिए । युक्रेनका लागि अबको २४ घण्टा महत्वपूर्ण हुने उनको भनाई छ ।
जेलेन्स्कीले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन कुराकानीमा अबको २४ घण्टा युक्रेनका लागि महत्वपूर्ण हुने भन्दै सहयोग मागेका थिए ।
सोमबार बेलारुसको सीमा नजिकै युक्रेन र रुसका प्रतिनिधिबीच वार्ता भएको थियो । उक्त वार्ता असफल भएपछि रुस थप िआक्रामक भएर आएको छ ।
पुटिनले नेटोका सदस्य राष्ट्रले आक्रामक अभिव्यक्ति दिएको भन्दै आणविक हतियार सतर्क अवस्थामा रहने समेत बताएका छन् ।