आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

प्रचण्डलाई अकल्पनिय झड्का लाग्नसक्ने, एकता केन्द्र ब्युँताउने तयारी गरेका नारायणकाजीको भित्री खेल बाहिरियो


  • बिहिबार, फाल्गुन १९ २०७८
5.2K
SHARES

तस्विरः फाइल

यतिखेर नेकपा माओवादी केन्द्रका दुई शीर्ष नेताहरुबीच मनमुटावको अवस्था सिर्जना भएको छ । अध्यक्ष पुष्पकमल दाहाल र प्रभावशाली नेता नारायणकाजी श्रेष्ठबीचको विवाद यतिसम्म सतहमा पुगिसक्यो कि दाहालले पार्टी त्यागेर जान सक्ने सांकेतिक स्वीकृति नै दिइ सके ।

हुन त विगतमा पनि माओवादी केन्द्रबाट शीर्ष नेताहरु नछुटिएका भने होइन । विभिन्न कारण वा पदको स्वार्थले पटक पटक माओवादीबाट शीर्ष नेताहरु छुटिदँै आएका छन् । तर यसपटक भने कुनै व्यक्तिगत स्वार्थले नभई अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताले पार्टी त्यागेर जान सकिनेसम्मको आशयको अभिव्यक्ति आएको हो ।

नारायणकाजी श्रेष्ठलगायतका नेताहरूको असहमतिका बीच प्रचण्डले व्याख्यात्मक घोषणा गरेर सम्झौता अनुमोदन गरेपछि दुई चिरा परेको माओवादीमा अध्यक्ष प्रचण्डले खुमलटारस्थित पत्रकार सम्मेलनमा ‘पार्टी छाडेर जाँदा हुने’ अभिव्यक्ति दिएका थिए । जसले नारायणकाजी श्रेष्ठलाई सोच्न बाध्य बनाएको छ ।

माओवादी प्रचण्डकै इसारामा चल्छ भन्ने त सबैलाई थाहा नै भएको कुरा हो । तर, प्रचण्डको यस्तो खाले अभिव्यक्तिले यी दुईबीचको मनमुटावको व्याख्या त गर्छ नै साथै, यसले माओवादीमा पार्टी फुटको श्रृङ्खलाले पनि निरन्तरता पाउने आशंका गर्न सकिन्छ ।

यसअघि पनि मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी जस्ता प्रभावशाली नेताहरु माओवादी केन्द्र परित्याग गरिसकेका छन् ।

यसैबीच, यता सत्तारूढ नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच बुधबार बिहान भेटवार्ता भयो । उक्त भेटवार्ताले माओवादी पार्टी पंक्तीमा खैलाबैला नै मच्चियो ।

श्रेष्ठ निवास हरिसिद्दिमा दुई नेताबीच ३ घण्टा लामो छलफल सम्पन्न भएको छ । प्रतिनिधि सभाबाट अमेरिकी सहायता सम्झौता अनुमोदनमा आफ्नो पार्टी पनि संलग्न भएपछि नेता श्रेष्ठ अध्यक्ष प्रचण्डसँग असन्तुष्ट बनेका मात्रै छैनन् उनी पार्टीमै नबस्ने मुडमा पुगिसकेका छन् ।

यसबीच प्रचण्डले श्रेष्ठबारे टिप्पणी गर्दै चित्त नबुझे पार्टी छाड्न पनि सकिने भनेपछि उनी झन् फायर बनेका छन् । यहीबीच विप्लव पार्टी एकता गर्ने प्रस्ताव लिएर श्रेष्ठकहाँ पुगेपछि उनी अब पार्टीमा नबस्ने लगभग पक्कापक्की भएको छ । यसअघि मंगलबार श्रेष्ठ फकाउन प्रचण्ड उनको निवास पुगेका थिए ।

श्रेष्ठले पूर्वएकता केन्द्र ब्युँताउने तयारी गरिरहेका बेला विप्लवले उनीसँग भेटवार्ता गरेका हुन् । सुरुमा एमसीसी संशोधन र परिमार्जन नगरी संसदबाट अनुमोदन गर्न नहुने अडान लिइरहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धन जोगाउन ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित गर्न सहमत भएका हुन्।

सोही सहमतिअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सहकार्यका लागि एमालेसँग जारी वार्ता रोके । गत आइतबार प्रतिनिधि सभाबाट एमसीसी बहुमतले पारित गराए ।

विप्लव नेतृत्वको नेकपालगायत ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले एमसीसी खारेज गरिनुपर्ने माग राखेर संयुक्त रूपमा सडक आन्दोलनदेखि नेपाल बन्दसम्मका कार्यक्रम गरिरहेका छन्। एमसीसी अनुमोदन गरिएपछि विप्लवले पनि प्रचण्डको आलोचना गरिरहेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा