आज हिन्दुहरूको विशेष दिन महाशिवरात्रीको अवसरमा पशुपतिनाथको दर्शन गर्न पाँच वटा लाइनको व्यवस्था मिलाइएको छ । पशुपतिनाथको मन्दिर परिसरलाई फुल तथा मालाले भव्य सजावट गरिएको छ ।
फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास गरिन्छ ।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ ।
शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ।
शिवरात्रिका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले शिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । यसवर्षको शिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ । नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ ।
यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँचवटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक–एक लाम गरी बाहिरीरूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्यसचिव थापाले जानकारी दिए ।
यसैगरी तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकतानुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उनले बताए । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेअगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।