काठमाडौं – अमेरिकाको जर्जटाउन विश्वविद्यालयको स्कूल अफ फरेन सर्भिसमा अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक पल डी मिलरले रुस युक्रेन युद्धका विषयमा टिप्पणी गरेका छन् ।
उनका अनुसार, अहिलेको परिस्थितिका अनेकौं सम्भावित परिणाम हुनेछन् । रुसमाथि पश्चिमी मुलुकहरूले लगाएको प्रतिबन्ध र युक्रेनले गरिरहेको रुसी सेनाको प्रतिकारले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई अप्ठ्यारो पार्न सक्छ ।
रुस पूरै युक्रेनलाई कब्जा गरेर नबस्न सक्छ । क्राइमिया रुससँगै हुनेछ र डोनबास क्षेत्रमा रहेको डोनेत्स्क र लुहान्स्क प्रान्तमा युक्रेनले नियन्त्रण गुमाउँछ ।
त्यसपछि युक्रेनसामु दुईवटा विकल्प हुनेछन् । ऊ कि त फिनल्यान्ड जस्तो तटस्थ बस्छ कि नेटोको सदस्य बन्छ । यस्तो नभएमा नीपर नदीको दुवै किनारमा दुई पक्ष अडिनेछन् । रुसले पूर्वी युक्रेन र क्राइमियामा पूर्ण नियन्त्रण कायम गर्नेछ । तनाव कायम रहनेछ ।
पश्चिम युक्रेन कमजोर हुनेछ र नेटोको सदस्य बन्नका लागि हारगुहार गर्नेछ । रुसले किएभ कब्जा गरे पनि युक्रेनको पश्चिमी भाग र महत्त्वपूर्ण शहरमा जनताले प्रतिकार गरेर छापामार युद्ध गर्न सक्नेछन् ।
त्यसो भएमा भयंकर रक्तपात मच्चिनेछ । युक्रेनले युद्ध जितेछ भने पनि कम्तीमा एक पुस्ता पछि पर्नेछ । रुसले पूरा युक्रेन जितेर त्यसलाई आफ्नो भूभागको एक अंग बनाउन पनि सक्नेछ ।
तर यसो गर्दा रुस संसारबाट एक्लिनेछ । उसमाथि कठोर प्रतिबन्ध लगाइनेछ । युक्रेन युद्धपछि विश्वको कूटनीतिमै परिवर्तन आउनेछ । यो नयाँ शीतयुद्धको थालनी हुन सक्नेछ । –एजेन्सी