शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

युक्रेनमा नयाँ टर्नः राष्ट्रपति जेलेन्स्कीलाई सत्ताच्युत गरेर को बन्दैछन् नयाँ राष्ट्रपति ?


  • आइतबार, फाल्गुन १५ २०७८
11.5K
SHARES

फाइल तस्विर

काठमाडौं । युक्रेनमा रुसी आक्रमणको तेस्रो दिनसम्ममा १० लाख मानिसहरु पलायन भइसकेका छन् । किभमा भारी बमबारी भइरहेको छ । रुसले युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्न दबाब दिइरहेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको सेनालाई आफ्ना नेतालाई सत्ताबाट हटाउन भनेका छन् । पुटिनको भनाइले यो स्पष्ट भएको छ कि पुटिन अहिलेका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई सत्ताच्युत गरेर युक्रेनमा रुस समर्थक सरकारलाई स्थापित गराउन चाहन्छन् ।

बेलायती खुफिया एजेन्सीका अनुसार रुसका समर्थन रहेका युक्रेनका केही नेता र पूर्व सैन्य अधिकारीहरु रुसले बनाउने नयाँ सरकारमा सहभागी हुन सक्छन् । यो सरकार रुसको कठपुतली सरकार हुने अनुमान गरिएको छ ।

युक्रेन गठन भएपछिको ३ दशकको इतिहासमा युक्रेनमा रुस समर्थक नेताहरु पनि राष्ट्रपति र प्रधानमन्त्री भएका थिए । युक्रेनको डोनबास क्षेत्रमा रुसको पूर्ण समर्थन छ । यी कुराहरु रुसको पक्षमा छन् । यस्तोमा रुसले युक्रेनको सत्तामा आफ्नो पक्षका नेताहरुलाई स्थापित गराउने तयारी तीब्र पारेको छ ।

युक्रेनमा रुसले बनाउने सरकारको प्रमुख पदको लागि मुख्य दावेदार पूर्व सांसद येहवेन मुरायेभलाई मानिएको छ । युक्रेनका सांसद रहिसकेका मुरायेभ देशमा रुस समर्थक च्यानल चलाउँछन् ।

उनको जीवनको धेरै समय रुसमा बित्छ । अहिले रुसले युक्रेनमा आक्रमण गरेको छ र यो समयमा मुरायेभ क्यारेबियन द्विपमा विदा मनाइरहेका छन् । मुरायेभ स्वयंले भने आफूलाई युक्रेनको सत्ताको दावेदार भन्दैनन् ।

युक्रेनको सत्ताको लागि दोस्रो दावेदार व्यवसायी आन्द्रेय क्लुयेभलाई मानिएको छ । उनी २०१० देखि २०१२ सम्म युक्रेनका प्रथम उपप्रधानमन्त्री थिए ।

यसबाहेक उनी युक्रेनका रुस समर्थक पूर्वराष्ट्रपति यानुकोभिचका चिफ अफ स्टाफ पनि रहिसकेका छन् । पृथकतावादी दोनेत्स्कको काउन्सिलमा पनि रहेका क्लुयेभ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका घोर समर्थक हुन् । उनको रुसमा आवतजावत चलिरहन्छ ।

तेस्रो दावेदार शेर्री अरबुजोभलाई मानिएको छ । अरबुजोभ २०१२ देखि २०१४ सम्म युक्रेनका प्रथम उपप्रधानमन्त्री थिए । उनले कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी पाएका थिए ।

२०१४ मा रुसले युक्रेनको क्रिमियामा आक्रमण गर्दा उनी रुसी राष्ट्रपति पुटिनको आलोचना गर्नबाट बचिरहे । पुटिनको आलोचना नगरेका कारण युक्रेनमा उनको विरोध पनि भएको थियो । अहिले बेलायतले प्रतिबन्ध लगाएका व्यक्तिहरुको सूचीमा उनी पनि छन् ।

चौथो दावेदार पूर्व प्रधानमन्त्री मायकोला अजारोभलाई मानिएको छ । उनी २०१० देखि २०१४ सम्म युक्रेनका प्रधानमन्त्री थिए । उनी आफ्नो सोभियत पृष्ठभूमिमा निकै गर्व गर्छन् ।

प्रधानमन्त्री पदबाट हटेपछि उनी अहिले रुसमै बसिरहेका छन् । उनले युक्रेनको बारेमा रुसी खुफिया एजेन्सी र विदेश मन्त्रालयलाई सूचना दिइरहन्छन् । उनी अहिलेको युक्रेनी सरकारका आलोचक हुन् ।

बेलायती विदेश मन्त्रालयले आफ्ना खुफिया एजेन्सीको रिपोर्टका आधारमा बताएअनुसार रुसको खुफिया एजेन्सीले युक्रेनका रुस समर्थक मानिने कैयौं नेताहरुलाई युक्रेनमा नयाँ सरकार स्थापित गराउने विषयलाई लिएर सम्पर्क गरिसकेको छ ।

यहाँसम्म कि युक्रेनमा पूर्व प्रधानमन्त्री मेकोला अजारोभको नाम पनि सूचिमा समावेश छ । यद्यपि बेलायती विदेश मन्त्रालयले यो दावीको समर्थनमा कुनै प्रमाण भने पेश गरेको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा