पछिल्लो एक वर्षमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३१ रुपैयाँ बढेकोछ । अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढेकाले त्यसको असर स्थानीय बजारमा पनि परेको हो ।
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेर आएको भन्दै विगत एक वर्षदेखि स्थानीय बजारमा लगातार मूल्य बढाइरहेको छ ।
त्यसको असर आम उपभोक्तामा पर्न गएकोछ । निगमका अनुसार अघिल्लो वर्ष २०७७ फागुन ४ मा पेट्रोल प्रतिलिटर ११४ रुपैयाँ रहेकोमा हाल बढेर १४५ पुगेकोछ । यस्तै, सो अवधिमा डिजेल प्रतिलिटर ९७ रुपैयाँ मूल्य रहेकोमा अहिले बढेर १२८ पुगेकोछ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले स्वचालित मूल्य प्रणाली अनुसार नेपालमा पनि मूल्य बढेको निगमले बताउँदै आएकोछ ।
अन्तर्राष्ट्रिय बजार अनुसार भारतको रक्सौल/बरौनीमा मङ्गलवार ८४.३२ नेपाली रुपैयाँ पर्ने पेट्रोलको खरिद मूल्य काठमाण्डूमा उपभोक्ताले खरिद गर्दा रु १४५ तिर्नुपर्छ। १४५ उपभोक्ताले तिर्दा त्यसभित्र भन्सार शुल्क, सडक मर्मत-संहार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्क समेटेर लगभग ८५ मा किनेको पेट्रोल १४५ रुपया तिरेर उपभोक्ताले किन्ने गर्छन ।
स्वचालित प्रणालीमा जाँदा उपभोक्तामाथि उच्च मार पर्ने भन्दै मूल्य स्थिरीकरण कोषमा निगमले आफ्ना सबै विक्रीको १ प्रतिशत रकम जम्मा गर्छ।
निगमको बिमासहित प्रशासनिक एवं विक्री खर्च र उसको प्राविधिक नोक्सानीका लागि थप १.७७ रुपैयाँ जोडिन्छ। रक्सौलदेखि काठमाण्डूसम्मको ढुवानी लागत ५.११ रुपैयाँ लाग्ने बताइएको छ।