नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८/७९को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १८ करोड रूपैयाँ नाफा बेहाेरेको यो वर्ष ६ महिनामै १२ अर्ब नाफा कमाएको हो ।
चालु आवको पहिलो ६ महिनामा नै नाफा बढेर १२ अर्ब १२ करोड रुपैयाँ पुगेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । यो सँगै सार्वजनिक संस्थानहरुमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था प्राधिकरण बनेको छ । आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वाषिर्क घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । गत आवमा भने नाफामा उल्लेख्य गिरावट आएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रण, भारतर्फ विद्युत निर्यातको परिमाणमा भएको बृद्धि, विद्युत आयातमा कमी, विद्युत बिक्रीमा बृद्धि, अन्य आयमा बृद्धिका कारण चालु आवको ६ महिनामा संस्था उलेख्य नाफा आर्जन गर्न सफल भएको बताए ।
कार्यकारी निर्देशक घिसिङले भने,’संचालन खर्चमा कटौती, प्रशासनिक तथा वित्तीय सुधारका लागि चालिएका कदम, ४५६ मेगावाटको माथिल्लो तामाकोशीसँगको विद्युत खरिद दर अन्य निजी क्षेत्रका आयोजनाको तुलनामा केही सस्तो हुनु पनि नाफा बढ्नुको कारण हो ।’
‘पुसबाट लागू हुने गरी उपभोक्ता महसुल समायोजन भएको छ, यसबाट चालू आवको बाँकी अवधिमा आम्दानी केही घट्ने हुँदा नाफामा प्रभाव पर्न सक्छ तर चुहावट नियन्त्रणलाई अझै प्रभावकारी र वित्तीय अनुशासनलाई कडाइ गरी नाफालाई १५ अर्ब कटाउने गरी काम गरिरहेका छौं,’ घिसिङले उल्लेख गरे ।
प्राधिकरणले चालु आवको ६ महिनामा ४७ अर्ब ९८ करोड आम्दानी गरेको छ भने ३५ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमश ः विद्युत बिक्री र खरिदमा हुने गरेको छ । प्राधिकरणको विदेशी दातृ निकायहरुको दीर्घकालीन ऋण एक खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । नेपाल सरकारसँगको दीर्घकालीन ऋण ८१ अर्ब ८१ करोडको रहेको छ भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व ३६ अर्ब ८४ करोड रुपैयाँ छ ।
प्राधिकरणको पँुजीकृत सम्पत्ति १ खर्व ६५ अर्व, पुँजीकृत हुन बाँकी सम्पत्ति १ खर्व ५२ अर्व, सहायक कम्पनीहरुमा लगानी ३५ अर्व ३४ करोड र ऋण लगानी ३२ अर्व ५० करोड रहेको छ । तरल पुँजी८५ अर्व १ करोड रहेको छ ।