अमेरिकी सहायता परियोजना एमसीसी सत्ता गठबन्धन धरापमा पर्ने सङ्केत स्पष्ट देखिएको छ । एमसीसी प्रकरणले सत्ता गठबन्धनमा दुई धार देखिए सँगै सत्ता गठबन्धन धरापमा पर्ने देखिएको छ । एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र माधव नेपाल एमसीसीको विपक्षमा जाने निर्णय सँगै गठबन्धन टुट्ने छाटकाट देखिएको छ ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच कुरा मिल्न नसक्दा एमसीसी सत्ता गठबन्धनकै लागी पेचिलो बनेको हो ।
सहमति जुटाउन देउवाले पटक पटक प्रयास गरिरहेका छन् । तर प्रचण्ड र माधव नेपालले नमानेपछि एमसीसीले सत्ताको भविष्य संकटमा परेको हो । देउवाले बिहीबार नै एमसीसी पारित गर्न सघाउन बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहयोग मागेका छन् ।
स्रोतका अनुसार ओलीले देउवासँग गठबन्धन तोड्न माग गरेका छन् । गठबन्धन तोडेमा एमसीसी पारित गर्ने र सरकारलाई पनि सहयोग गर्ने ओलीको बचन छ । तर दुवै प्रकरणमा पहिला देउवाले निर्णय लिनुपर्ने प्रस्ताव पनि ओलीले अघि सारेका छन् ।
शुक्रबार पनि प्रचण्ड र माधव नेपाललाई मनाउने प्रयास सफल नभए एमालेलाई सरकारमा ल्याएर एमसीसी पारित गर्ने देउवाको तयारी छ । एमसीसी संशोधन नगरेर पारित गरे सरकार छाड्ने चेतावनी प्रचण्ड र माधव नेपालले यसअघि नै दिइसकेका छन् ।
एमसीसीकै कारण प्रतिनिधिसभाका पछिल्ला ६ वटा बैठक निरन्तर प्रभावित छन् । त्यसमा प्रमुख प्रतिपक्षी एमालेको अवरोध पनि मुख्य कारक छ । शुक्रबारको सत्ता गठबन्धनले एमालेको अवरोध हटाएर प्रतिनिधि सभामा एमसीसी टेबल गर्ने विषयमा सहमति जुटाउन नसके नेपाली राजनीति थप जटिल मोडमा पुग्नेछ ।
सत्ता गठबन्धनमा माओवादी र नेकपा एकिकृत समाजवादीको अडान नफेरिएकाले शुक्रबारको संसद् बैठकमा पनि एमसीसी टेबल हुने सम्भावना न्यून देखिएको छ । जसले गर्दा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले गरेको प्रतिबद्धता अलपत्र पर्दै अबको लगभग एक हप्ताभित्र एमसीसी पारित नभए फिर्ता हुने समय नजिकिदो छ ।
नजिकै आएको चुनावको मुखमा ओली र देउवाबिच सहमति भएर काँग्रेस र एमाले मिलेको खण्डमा माओवादी पार्टी र समाजवादी पार्टीको भविष्य के होला भन्ने टिका टिप्पणी पनि सुरु हुन थालेको छ । गएको चुनावमा एमालेसँग मिलेर सत्तामा जाने सिट जोगाएका प्रचण्ड यति बेला नाजुक अवस्थामा छन् भने एमाले सँग फुटेर समाजवादी दल खोलेका माधव नेपालको पनि जनतामा गएर एक्लै चुनाव जित्ने अधस्थमा देखिँदैनन् ।