शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

कमल थपाले राजतन्त्र पुन:स्थापनाको एजेन्डाबाट ‘सन्यास’ लिदै, हिन्दु राष्ट्रको मुद्दामात्रै बोक्ने


  • मंगलबार, फाल्गुन ३ २०७८
9.3K
SHARES

फाइल तस्विर

कमल थापाले राजतन्त्र पुन:स्थापनाको मूल राजनीतिक एजेन्डाबाट ‘सन्यास’ लिने भएका छन्। थापा धनकुटाका लाक्पा लामाको नेतृत्वमा रहेको राप्रपा नेपालमा प्रवेश गर्दै आइतबार अध्यक्ष बनेका थिए।

थापाले फागुन ७ गते राप्रपा नेपालमा फर्किएको आधिकारिक घोषणा गर्दै उक्त पार्टीले बोक्ने एजेन्डा सार्वजनिक गर्दैछन्। उनीनिकट नेता राजाराम बर्तौलाका अनुसार राप्रपा नेपालले फागुन ७ गते आफ्नो वैचारिक-राजनीतिक एजेन्डा सार्वजनिक गर्ने छ, जसमा राजतन्त्र छैन।

राप्रपा नेपालले बोक्ने राजनीतिक-वैचारिक एजेन्डाबारे अहिले व्यापक छलफल भइरहेको र लगभग टुंगोमा पुगिएको बर्तौलाले बताए। ‘राप्रपा नेपालको मूल एजेन्डा हिन्दु राष्ट्र, सुशासन र समृद्धिको हुने निश्चित भइसकेको छ,’ बर्तौलाले  भने।

बर्तौलाले राजतन्त्रको मुद्दा बोक्ने सम्भावना राप्रपाको एकता महाधिवेशन र त्यसबाट उत्पन्न परिस्थितिले नै समाप्त पारेको बताए।

‘राप्रपाको एजेन्डा हिन्दु राष्ट्र र राजसंस्था भन्ने थियो, त्यो एजेन्डा उहाँले बोकिरहनु भएकै थियो, तर महाधिवेशनमा जसरी निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रबाट हस्तक्षेप भयो, त्यसको छानबिन नहुने भएपछि उहाँ नयाँ पार्टी गठन गर्ने दिशामा पुग्नुभएको हो,’ बर्तौलाले भने, ‘अब उहाँले राजतन्त्रको एजेन्डा लिनु हुँदैन।’

बर्तौलाले राप्रपा नेपालको कार्यनीतिमा राजसंस्था नरहनेमा ढुक्क हुनुपर्ने स्पष्ट पारे।

‘राजसंस्थाप्रतिको सम्मान र विश्वास रहिरहन्छ,’ उनले भने, ‘तर, राजा आऊ, देश बचाऊ भनेर यो पार्टीले राजनीति गर्दैन।’

थापा राप्रपा महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए। पराजित भएसँगै थापाले निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरी आफूलाई हराएको भन्दै नेतृत्वसँग छानबिनको माग गरेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा