शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

कमल थापाको ‘गीता’ कसम खोलै खोला, फागुन पहिलो साता नयाँ पार्टी घोषणाको तयारीमा


  • बुधबार, माघ २६ २०७८
8K
SHARES

कमल थापाको ‘गीता कसम खोलै खोला गएको छ । राप्रपा पूर्व अध्यक्ष समेत रहेका थापा नयाँ पार्टी खोल्ने रणनीतिमा रहेका छन् । पार्टी फुटाउँदिन भन्दै गीताको पुस्तक छोएर खाएको कसम कसममा मात्र सीमित बनेको छ । अध्यक्षमा पराजित भएका थापा पद नपाएपछि पार्टीबाटै अलग भएका हुन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका  थापाले नयाँ पार्टी घोषणाको तयारी थालेका छन् । थापा निकट स्रोतका अनुसार नयाँ पार्टीमा ‘राजसंस्था’ एजेण्डा हुने छैन । थापाले हिन्दुराष्ट्रको एजेन्डामात्र बोक्ने गरी नयाँ पार्टी बनाउन लागेको बुझिएको छ ।

निकटकाहरुसँग नयाँ पार्टीको उद्देश्य, संगठनात्मक संरचना, एजेन्डालगायतका विषयमा सामान्य ब्रिफिङ गरेका थापाले त्यसका लागि आवश्यक दस्ताबेजलाई पनि अन्तिम रुप दिन थालेका छन् ।

स्रोतका अनुसार थापाले फागुन पहिलो साताभित्र नै नयाँ पार्टीको घोषणा गर्ने छन् । यससँगै थापाले पार्टी एकताका क्रममा खाएको हिन्दूहरूको पवित्र ग्रन्थ गीताको कसम पनि तोडिने भएको छ ।

थापाले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगसँग सामान्य परामर्श गरिसकेका छन् । बुधबारदेखि आफ्नो समूहभित्र थप छलफल गरी पार्टीलाई मूर्तरूप दिने तयारी छ ।

त्यसका लागि उनी निकट केही नेताहरुले छिट्टै पार्टी परित्यागको घोषणा गरेर थापाको अभियानमा होमिएको घोषणा गर्नेछन् । तर, थापा निकटकै कतिपय पदाधिकारी र केन्द्रीय सदस्यले भने उनलाई साथ नदिने छनक दिइसकेका छन् । उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री भुवन पाठक लगायतले थापालाई साथ नदिने बताएका हुन् ।

थापाले आफ्नो पार्टीमा आउन पूर्वअध्यक्ष पशुपति शमशेर राणालाई समेत आग्रह गरेका छन् । सो क्रममा थापाले अध्यक्षको प्रस्ताव समेत गरेको बनाइएपनि उनले सो प्रस्ताव अस्वीकार गर्दै राप्रपामै रहने जवाफ फर्किएको राप्रपाका एक नेताले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा