नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेता तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ’प्रकाण्ड’ नेकपा एमाले प्रवेश गर्ने खबर बाहिरिएको छ ।
प्रकाण्डनिकट स्रोतकाअनुसार हप्तादिनपछि उनले औपचारिक रुपमा एमाले प्रवेश गर्नेछन्।
एमाले महासचिव शंकर पोखरेल र प्रवक्ता प्रकाण्डबीच आन्तरिक संवाद चलिरहेको हुँदा पार्टी प्रवेशको मिति भने खुलाइएको छैन । दलबलसहित महासचिव विप्लवको साथ छाड्ने निधो गरेका उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने बताइएको छ ।
पछिल्लो समय विप्लव–प्रकाण्डबीच सम्बन्ध बिग्रिएको नेकपाका नेता–कार्यकर्ताहरू नै चर्चा गर्छन् । उनले अघिल्लो महिना विप्लवको कार्यशैलीप्रति असहमति जनाउँदै पार्टी त्याग्ने चेतावनी दिएको स्रोतको दाबी छ ।
तत्कालीन नेकपा माओवादीका वरिष्ठ नेता मोहन वैद्यले प्रचण्ड नेतृत्वको नेकपा ९माओवादी० छाडेपछि उनी पनि वैद्यसँगै बाहिरिएका थिए ।
एउटै पार्टीमा रहँदा वैद्य र विप्लवबीच विवाद चुलिँदा प्रवक्ता विश्वकर्माले विप्लवलाई साथ दिएका थिए । लगतै, वैद्यबाट अलग भएर भूमिगत रुपमा छुट्टै संगठन विस्तारमा लागेका उनी पार्टीभित्र विप्लवपछिको दोस्रो बरियातामा रहेका छन् ।
ओली नेतृत्वको अघिल्लो सरकारसँग वार्तामा आएपछि खुल्ला राजनीतिक गतिविधि गर्न थालेपछि उनी एकाएक ’यु–टर्न’ भएका हुन्। उनी पछिल्लो केही हप्तादेखि विप्लवसँग असन्तुष्ट थिए ।
निकटवर्तीमाझ प्रकाण्डले बेलाबेला भन्ने गरेका थिए– अब संसदीय राजनीति नै गर्ने भए नाङ्ले पसल खोल्ने होइन, डिपार्टमेन्ट नै चलाउने हो ।