१९ माघ, काठमाडौँ ।
ओमिक्रोन महामारीमा फ्रन्ट लाइनमा बसेर काम गर्ने सञ्चार गृह तथा पत्रकारहरूलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । बुधवार कपन, आकाशेधाराको एक होटेलमा कार्यक्रमको आयोजना गर्दै उक्त सामाग्री प्रदान गरिएको हो ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेका क्षेत्र नं. ४ का निवर्तमान क्षेत्रीय सचिव विनोद चालिसेको नेतृत्वमा सामाग्री वितरण गरिएको जनाइएको छ । बूढानीलकण्ठ नगरपालिकालाई कार्यक्षेत्र बनाएका फ्रन्टलाइन काम गर्ने पत्रकार तथा सञ्चार गृहलाई मास्क, स्यानिटाइजर जस्ता स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।

सोही सामाग्री वितरणका लागि पहिलो खण्ड अन्तर्गत औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । विभिन्न वक्ताहरूले आफ्नो भनाई राख्दै सञ्चारकर्मी र राजनीतिकर्मी समाजको अभिन्न अंग रहेको र सँगै हातेमालो गर्दै हिँड्न जरुरी भएको बताए ।

नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठको प्रमुख आतिथ्ययतामा गरिएको कार्यक्रममा नेका क्षेत्र नं. ४ का सभापति श्यामकृष्ण संगत, क्षेत्रीय सचिव दामोदर (बद्री) भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

राज्यको चौथो अंग भएको नाताले फ्रन्टलाइन बसेर आफ्नो जिउ ज्यानको प्रवाह नगरी काम गर्नु भएका सञ्चारकर्मीलाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो अगुवाइमा स्वास्थ्य सामाग्री प्रदान गरिएको चालिसेले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले विषम परिस्थितिमा अग्रपङ्क्तिमा सँगै रहेकाहरुसंगको आत्मीय सम्बन्ध बढवा दिन एक माध्यमको रूपमा यस कार्यक्रमको आयोजना गरिएको बुझिदिन आग्रह गरे । उनले भने, ‘पत्रकारको व्यवहारिक पक्षमा ध्यानमा राख्दै आफ्नो तर्फबाट गर्ने आवश्यक सहकार्य गरेको छु । जसले गर्दा औपचारिक सम्बन्ध मात्र नभई थप आत्मीय सम्बन्धको विकास हुने रहेछ ।’

औपचारिक कार्यक्रमलाई क्षेत्र नं. ४ प्रदेश (ख) का सचिव मनोज सिग्देलले सञ्चालन गरेका थिए ।


















