शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एमसीसी पास नगरे गठबन्धन तोडिन्छ : देउवा


  • आइतबार, माघ १६ २०७८
13.1K
SHARES

फाइल तस्विर

प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता अनुमोदन गर्ने लाइनमा सत्ता साझेदार दलहरू नआए गठबन्धन तोडिने सङ्केत गरेको समाचार बाहिरिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्नैपर्ने बाध्यतामा आफू रहेको बताएका छन् । उनले एमसीसी पास नभए पाँचदलीय गठबन्धन टुट्ने चेतावनीसमेत दिएका छन् ।

शनिबार साँझ सत्तारुढ पाँच दलको बैठक राखेर स्थानीय निर्वाचनमा जेठमा गर्ने सहमति जुटाएका देउवाले लगतै एमसीसीबारे छलफल गरेका थिए । बालुवाटारमा भएको छलफलमा राष्ट्रिय जनमोर्चाबाहेक चार दलका शीर्ष नेताहरु र कार्यदलका सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की थिए ।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले १ फेब्रुअरीसम्म अनुमोदन नगराए अमेरिकाले एमसीसी परियोजना फिर्ता लैजाने भन्दै संसदबाट अनुमोदन गर्नुपर्ने बताएका छन् ।

‘फेब्रुअरी १ मा एमसीसी अनुमोदन गराउन अमेरिकाले म्याद दिएको कुरा प्रधानमन्त्रीले सुनाउनुभयो,’ एमसीसी अध्ययन कार्यदलमा समेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने, ‘त्यसभित्र तिमीहरुले गर्‍यौ भने गर्‍यौ, नभए हामी फिर्ता लान्छौं भन्याछन् भनेर प्रधानमन्त्रीले भन्नुभएको थियो ।

उनले एमसीसी पास गर्नैपर्ने भएकाले सहयोग गर्न अरु दलका नेताहरुसँग आग्रह गरे । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु त्यसमा सहमत भएनन् । कार्यदलमा रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यही अवस्थामा संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने बताए ।

जवाफमा प्रधानमन्त्री देउवाले संसदमा प्रस्ताव पेश गर्ने अडान मात्रै लिएनन्, तपाईंहरुलाई मन लागे भोट हाल्नुस्, मन नलागे नहाल्नुस् भनेका छन् । ‘प्रधानमन्त्रीज्यू अलिकति दबावमा देखिनुहुन्थ्यो, उहाँले एमसीसी यही अधिवेशनबाट पारित गर्नुपर्छ नत्र भने गठबन्धन टुट्छ भन्नुभयो,’ अर्का एक शीर्ष नेताले भने, ‘हामीले पनि एमसीसीमा एमाले अध्यक्ष ओलीसित मिल्नु छ भने मिल्नुस्, पास गर्नुस् । त्यसरी जालझेल गरेर गठबन्धन जोगाउनु पनि छैन भन्यौं ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा