बुधबार, कार्तिक ५ २०८३
ताजा अपडेट

एमालेलाई क्लिन स्वीपबाट जोगाउने शेर्पा


  • बिहिबार, माघ १३ २०७८
6.7K
SHARES

सोलुखुम्बुका सोनाम गेल्जेन शेर्पा राष्ट्रियसभाका १९ सिटका लागि बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनको ‘क्लीन स्वीप’ रोक्ने एक्ला उम्मेदवार बनेका छन् ।

नेकपा एमालेका उम्मेवार शेर्पा ४,७७० मतसहित अल्पसंख्यकतर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उम्मेवारी दर्ता गर्दासम्म धेरैले उनको जितको कल्पना गरेका थिएनन् । गेल्जेन आफैं पनि भन्छन्, ‘राजनीति प्रतिस्पर्धा हो, एक भोट आए पनि लड्छु भन्ने थियो ।’ सम्भावना नै नभएका मान्छे पनि चुनावी प्रतिस्पर्धामा उत्रिने गरेको बताउँदै उनी भन्छन्, ‘तर म त प्रबल दाबेदार हुँ थिएँ नि, नतिजा मेरै पक्षमा आउँछ भन्ने पनि लागेको थियो ।’

मतदाताले गठबन्धन नभई अनुभव, लगनशीलता र इमान्दारितालाई हेर्नु नै आफ्नो जीतको आधार भएको उनी बताउँछन् । ‘म विवादित मान्छे पनि थिइनँ, समकालीन साथीहरु पनि गाउँगाउँमा हुनु भएकाले जित्छु भन्ने विश्वास थियो’ शेर्पाले  भने, ‘मैले विगतमा साबिक नाम्चे गाविसको अध्यक्ष र पार्टीका विभिन्न भूमिका रहेर पुर्‍याएको योगदानको कदर भएको छ ।’

सोलुखुम्बुको नाम्चे बजारका शेर्पा २०४६ सालबाटै नेकपा एमालेसँग जोडिएका व्यक्ति हुन् । शेर्पाले ‘नेपाल ल क्याम्पस, काठमाडौं’मा अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्यका रुपमा विद्यार्थी राजनीतिमा प्रवेश गरेर एमालेसँग जोडिएका थिए ।

२०५७ सालमा उनी नाम्चे गाविसको अध्यक्ष भए । पछि पार्टीको जिल्ला कमिटी सदस्य हुँदै पर्यटन विभागको केन्द्रीय सदस्य पनि भए । उनको नाम्चे बजारमा होटल व्यवसाय पनि छ । गाविस अध्यक्षको रुपमा कार्यकाल पूरा गरेपछि उनी सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमा चार कार्यकाल अध्यक्ष भए ।

उनलाई एमाले प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक सांसदको उम्मेवारको सूचीमा पनि राखेको थियो । तर उनी सिफारिसमा परेनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा