गठबन्धनले बुधबार राष्ट्रिय सभामा एमालेलाई तीतो हार चखाएको छ। १९ सिटका लागि भएको निर्वाचनमा एमालेले एक सिटमा चित्त बुझाउनु परेको छ।
प्रदेश १ बाट एक सिट जिते पनि समग्र परिणाम एमालेले गुमाएको हो। बुधबारको परिणामले एमालेले राष्ट्रिय सभाका सात सदस्य गुमाएको छ। एमालेले सात जना राष्ट्रियसभा सदस्य गुमाउँदा सत्तारुढ माओवादी केन्द्र ४, नेकपा एकीकृत समाजवादीको ४ र नेपाली कांग्रेसले ४ सिट जितेका छन्। गठबन्धनमा सहभागी जनमोर्चाले राष्ट्रिय सभामा ऐतिहासिक उपस्थिति जनाएको छ।
गठबन्धनले १९ पद भागबन्डा गरेर उम्मेदवार उठाउँदा लुम्बिनीबाट जनमोर्चाका तुलप्रसाद विश्वकर्मा उम्मेदवार बनेका थिए। चार जना मतदाता रहेको जनमोर्चाले राष्ट्रियसभामा प्रतिनिधित्वको ऐतिहासिक अवसर पाएको हो।
प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीमा एमालेको सरकार हटाएर गठबन्धनले बहुमतीय सरकार गठन गरेको छ। बुधबारको राष्ट्रियसभा चुनावले एमालेलाई थप धक्का दिएको छ। सनकको भरमा बहुमतप्राप्त प्रधानमन्त्रीले गरेको गलत निर्णयको भागिदार समग्र पार्टी बनेको छ।
अदालतको परमादेशबाट प्रधानमन्त्रीको कुर्सी खुस्किएका केपी ओलीले पार्टीको पराजयको सन्दर्भमा कुनै प्रतिक्रिया दिएका छैनन्। एमाले महासचिव शंकर पोखरेलले अब एमाले अझ सशक्त बन्ने दाबी गरेका छन्। जनतालाई आश्वस्त पार्न रक्षात्मक प्रतिक्रिया दिए पनि एमाले नेतृत्वले गठबन्धनसँग पराजित हुनुपर्ने कुरा राम्ररी बुझेको देखिन्छ।
महासचिव पोखरेलले चुनावी परिणामलाई जनादेश खण्डित गर्ने षड्यन्त्रको अन्तिभ भोज भनेका छन्। पार्टी महासचिवको छुद्र प्रतिक्रियाले एमालेको पराजित मानसिकतालाई प्रतिबिम्बित गरेको छ। ‘राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज बन्न पुगेको छ’, पोखरेलले फेसबुकमा लेखेका छन्।
हारको मानसिकतामा आएका प्रतिक्रिया भन्दा पनि राष्ट्रिय सभामा सत्ता गठबन्धन एक भए पनि आगामी स्थानीय, प्रदेश र संघीय चुनावसम्म गठबन्धन कायम रहन्छ कि रहदैन भन्ने सवाल महत्वपूर्ण हुन्छ। यो राजनीतिक खेलमा एमाले अब मैदान छिरेर गठबन्धन भत्काउने प्रयासमा लाग्ने कुरालाई नकार्न सकिन्न।
गठबन्धनमा भन्दा एक्लै चुनाव लड्दा फाइदा हुने आवाज काँग्रेसमा चर्को रुपमा उठेको छ। यसको फाइदा भने एमालेले उठाने देखिन्छ। गठबन्धनलाई निरन्तरता दिने विषयमा माओवादी, नेकपा (एस) र जनमोर्चा एकठिक्का रहे पनि कांग्रेसको संस्थापन इतर समूह यसको विरोधमा छ। यो विषयमा पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवा भने मौन छन्। आगामी चुनावमा एमालेले यसको फाइदा उठाउने दाउमा देखिन्छ।