राष्ट्रिय सभाको आज निर्वाचनमा सत्ता गठबन्धनका ५ दल मिलेर उम्मेदवारी दिएका छन् भने एमाले एक्लै चुनावी मैदानमा होमिएको छ।
यस हिसाबले धेरैजसो स्थानमा एमाले हार्ने आकलन गरिएको छ। यो कुरा स्वयं एमालेका नेता गोकुल बाँस्कोटाले पनि स्वीकार गरेको देखिन्छ। यसैले उनले गठबन्धनविरुद्ध आक्रोश पोखेका छन्।
उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘शायद ,आज नेपाली मार्तोबपन्थीहरु खुसीले झुम्छन होला यदि एमालेले सफलता हासिल गरेन भने।काग्रेसको ढाडमा चडेर उनीहरु समाजवादको गीत गाउॅंदै नाच्दैछन।त्यो ढाड केही समयमै सर्नेछ जब उपादेयता सकिन्छ।नक्कली रातो झण्डा सहित उनीहरु भुइॅंमा पछारिनेछन।र,हामी भन्छौ-पर्ख रातो सूर्य फेरि उदाउनेछ।’
निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि आज निर्वाचन हुन लागेको हो ।
राष्ट्रिय सभामा १९ सांसदको आगामी फागुन २० गते पदावधि सकिँदैछ। पदावधि सकिनुअघि नै निर्वाचन हुन लागेको हो।
सातवटा प्रदेशमा गरेर दुई हजार २५ जना मतदाता छन्। चुनावमा पाँच सय ३२ जना प्रदेश सभा सदस्य र एक हजार चार सय ९३ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन्। रिक्त हुने १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ।
जसका लागि आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश १ मा प्रदेश निर्वाचन कार्यालय विराटनगरमा र बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको आयोगले जानकारी दिएको छ ।