मल देऊ, मत लेउ भन्दै सिके राउत नेतृत्वका जनमत पार्टीले जनकपुरधाममा राष्ट्रियसभा निर्वाचन क्षेत्र स्थलमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा सिके राउतका कार्यकर्ताहरू निर्वाचन भइरहेको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान भवन तर्फ जान खोज्दा प्रहरी र जनमत पार्टीका कार्यकर्ता बिच झडप भएको हो ।
सिके राउतका कार्यकर्ताहरूले हातमा भाटा बोकेर मतदान स्थल पुगेका थिए । सो क्रममा प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिनका लागि अश्रु ग्याँस समेत प्रहार गरेका थिए । धनुषा प्रहरीले दुई राउण्ड अश्रु ग्याँस प्रदर्शनकारीहरू माथि प्रहार गरेका थिए ।
राष्ट्रिय सभा निर्वाचनको मतदानको तयारी भइरहेको बेला उनीहरुले रामानन्द चोक र भानु चोकमा केहीबेर प्रदर्शन गरेका हुन् । उनीहरुले ‘पहिले मलखाद देऊ, अनि भोट खसाऊ’ भन्दै नारा लगाएका थिए । उनीहरुले ‘स्थानीय निर्वाचन नभई राष्ट्रिय सभा निर्वाचन किन !’ लेखिएको प्लेकार्ड पनि बोकेका थिए ।
धनुषाका प्रहरी प्रमुख एसपी बसन्त रजौरेका अनुसार प्रहरी देखेपछि उनीहरु भागेका थिए । उनका अनुसार सडकमा कुनै पनि प्रकारको अवरोध छैन । प्रदर्शन गर्नेहरु पनि सडकमा छैनन् ।
सिके राउतका नेता/कार्यकर्ताहरुले किसानका मुद्दा उठाउँदै जिल्लामा गतिविधि गर्दै आएका छन् । त्यही क्रममा आज बिहान सडकमा टायर बालेर केहीबेर उनीहरुले प्रदर्शन गरेका हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।