शनिबार, साउन ३० २०८३
ताजा अपडेट

तरलता अभाव हट्दै जान्छ : अर्थसचिव


  • मंगलबार, माघ ११ २०७८
8.3K
SHARES

फाइल तस्विर

अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्रमा पछिल्लो समय केही चाप रहे पनि खराब अवस्थामा पुगिनसकेको बताएका छन् ।

७.११ प्रतिशतको मूल्यवृद्धि, आठ खर्ब ८० अर्बको व्यापार घाटा, रेमिट्यान्समा गिरावाट आएकाले अर्थतन्त्रमा केही चाप बढेको सचिव मरासिनीले स्वीकार गरे ।

नेपाल चेम्बर अफ कमर्सले ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक रामप्रसाद रेग्मीको सम्मानमा आयोजित कार्यक्रममा उनले कोभिड–१९ को दोस्रो लहरपछि आर्थिक गतिविधि स्वाभाविक चलायमान हुन खोजेकाले अर्थतन्त्रमा केही चाप देखिएको बताए ।

विदेशी विनिमय सञ्चिति केही घटे पनि कम्तीमा ६ महिनालाई आयात धान्न सकिने अवस्थामा रहेकाले आत्तिनु नपर्ने उनको भनाइ थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकदेखि पुँजीगत खर्च पनि बढेकाले बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हट्दै जाने मरासिनीको भनाइ छ ।

सरकारले यो वर्ष लक्ष्यानुसार आर्थिक वृद्धि हासिल गर्ने दाबी समेत उनले गरे । सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आयात निरुत्साहित र निर्यात प्रवर्द्धन हुने गरी व्यापार सहजीकरण हुनुपर्ने बताए । आयात रोक्नु भन्दा पनि व्यवस्थित गर्नुपर्ने उनले बताए । “करको दर नभई दायरा बढाएर राजस्वको लक्ष्य पूरा गर्नुपर्छ । सरकारी नीति एकद्वार हुन नसक्दा व्यवसायीले अनावश्यक दुःख पाइरहेका छन् । भन्सार प्रशासनमा पनि डिजिटल प्रणालीको व्यवस्था गर्नुपर्छ,” उनले भने ।

अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक भएसँगै अर्थतन्त्र नै जोखिमको दिशामा रहेको भन्दै उनले अर्थसचिव मरासिनीको ध्यानाकर्षण गराए । आठ खर्ब ८० अर्ब रुपैयाँ व्यापार घाटा पुगिसकेको भन्दै उनले सरकारी नीति र योजना तथा कार्यान्वयनको पाटोमा गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको समेत बताए ।

चेम्बरले ७०औँ अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक रामप्रसाद रेग्मीलाई सम्मान गर्‍यो । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक रेग्मीलाई सम्मान गरेको हो । काठमाडौंको जमलस्थित चेम्बर कार्यालयमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष मल्लले दोसल्ला ओढाएर एवं अर्थसचिव मरासिनीले प्रमाणपत्रसहित निर्देशक रेग्मीलाई सम्मान गरे ।

भन्सार विभागमा उत्कृष्ट सेवा तथा रसुवा भन्सारमा हुँदा व्यापार सहजीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले रेग्मीलाई ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको अध्यक्ष मल्लले बताए । भन्सार विभागकै सिफारिसका आधारमा चेम्बरले निर्देशक रेग्मीलाई सम्मान गरेको हो । रसुवा भन्सारसँगै विराटनगर, वीरगन्ज, महेन्द्रनगर भन्सारमा झन्डै १५ वर्ष बिताएका रेग्मीले सेवामा रहँदा उत्कृष्ट कार्य गरेको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद शर्माले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा