शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

बैंकमा तरलता समस्या सहज बन्दै, एक सातामै थपियो ५८ अर्ब


  • मंगलबार, पुष २७ २०७८
9K
SHARES

फाईल तस्बिर

पछिल्ले एक सातामा वाणिज्य बैंकहरुमा ५८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । लगानी योग्य रकम (तरलता) समस्याले निकै अप्ठेरो स्थिति खेपिरहेका बैंकहरुका लागि यो निकै ठूलो राहत हो । ऋण प्रवाह धेरै हुने र निक्षेप संकलन एकदमै कम हुँदा बैंकहरुले तरलता समस्याको चर्को अभाव झेलिरहेका थिए ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघका अनुसार एक सातामा ५८ अर्ब रुपैयाँ निक्षेप थपिँदा ९ अर्ब रुपैयाँमात्रै कर्जा प्रवाह भएको छ । पुस १६ गतेसम्म बैंकिङ क्षेत्रमा ४२ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

२३ पुसमा आइपुग्दा निक्षेप ५८ अर्बले बढेर ४३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । उता कर्जा कर्जा सोही अवधिमा ४० खर्ब ९९ अर्बबाट बढेर ४१ खर्ब ८ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले अहिले तरलता समस्या सहज भएको बताए । निकै अप्ठेरो अवस्था झेलिरहेका बैंकहरुले अहिले भने राहत महशुस गरेको उनको भनाइ छ ।

अर्थमन्त्रालयले स्थानीय तहरुको बैंकमा रहेको मौज्दातको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिने निर्णय गरेको छ । यो कार्यान्वयनमा समेत आइसकेकाले अहिले निक्षेप बढेको हो ।

अर्को तर्फ अहिले पुनरकर्जा पनि धेरै गएकाले यसले पनि तरलतामा सहज बनाएको प्रवक्ता भट्ट बताउँछन् । ‘तरलताको समस्या कति छ भनेर हेरिने एउटा मुख्य विषय अन्तर बैंक ब्याजदर हो,’ उनले भने, ‘अहिले अन्तर बैंक ब्याजदर ५ प्रतिशतबाट ३ प्रतिशतमा झरेको छ । यो भनेको धेरै सहज भएको छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा