शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

पूर्वराजा ज्ञानेन्द्रप्रति कटाक्ष गर्दै कमल थापाले भने- म निरंकुश र सक्रिय राजतन्त्रको पक्षमा छैन


  • शुक्रबार, पुष २३ २०७८
7.9K
SHARES

तस्विरः फाइल

राप्रपाका पूर्व अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति पुनः कटाक्ष गरेका छन्।

आफूलाई पार्टी अध्यक्षमा पराजित गर्न निर्मल निवास (पूर्वराजा ज्ञानेन्द्र) नांगो हस्तक्षेप गरेको आरोप लगाउँदै थापाले ज्ञानेन्द्र शाह राजनीतिभन्दा माथि बस्न नचाहेको आरोप लगाएका छन्।

विगतको विषम परिस्थितिमा मैले राजसंस्थाको एजेण्डा बोक्दा प्रतिगामी, पुनरोत्थानवादी र ‘सिनो’ बोकेर हिँड्ने भनेर मलाई सत्तोसराप गर्नेहरु नै अहिले मैले राजा राजनीतिभन्दा माथि रहनुपर्छ, पार्टीमा चलखेल गर्नुहुँदैन भन्दा मेरो खेदो खनिरहेका छन्।

हाँसो र उदेक लाग्छ। त्यो राजतन्त्रप्रति विकसित नयाँ मोह हो वा मेरो चरित्रहत्या गर्ने रहर, मैले बुझ्न सकेको छैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाको आन्तरिक प्रतिस्पर्धामा नांगो हस्तक्षेप गरेको आरोप लगाउँदै थापाले आफू निरंकुश र सक्रिय राजतन्त्रको पक्षमा नरहेको दाबी गरेका छन्।

‘राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा (पूर्वराजा ज्ञानेन्द्र) निष्पक्ष अभिभावक र राजनीति भन्दा माथि बस्न नचाहने स्पष्ट संकेत मिलेको छ,’ उनले लेखेका छन्, ‘मेरो समस्या र पीडा त्यहीँ हो। यो प्रसंगलाई हारजितसँग जोडेर हेर्नेहरुले समस्याको जडलाई बुझ्न सक्दैनन्। उनीहरुको विवशता प्रति मेरो दया छ।’

उनले आफू राप्रपा विभाजनको पक्षमा नरहेको पनि स्पष्ट पारेका छन्। ‘स्पष्ट होस्- विचार मिलेन भने पार्टीबाट कुनै दिन नैतिक आधारमा म अलग हुनसक्छु तर राप्रपा कदापि फुटाउने छैन,’ थापाले भनेका छन्।

यसअघिनै अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थापाले राजतन्त्रको एजेन्डा छोड्ने संकेत गरेका थिए। आगामी पुस २७ गतेबाट ‘नयाँ अभियान’ सुरू गर्दै उनले राजतन्त्रको एजेन्डा छाड्ने तयारी गरेको सेतोपाटीलाई बताएका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहसँग असन्तुष्टि राख्दै आएका छन्। उनले पार्टीको चुनावमा ज्ञानेन्द्र र निर्मल निवासले हस्तक्षेप गरेको भन्दै छानबिन गर्न लिङ्देनलाई लिखित रूपमै पत्र दिएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा