शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

यही २५ गते प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदै, मोदीसँग गुजरातमै भेटवार्ता हुने


  • मंगलबार, पुष २० २०७८
12K
SHARES

फाइल तस्विर

प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमणमा जाने तय भइसकेको छ । त्यसक्रममा उनी २५ पुसमा नयाँ दिल्ली प्रस्थान गर्नेछन् । उनले २६ पुसमा गुजरातको अहमदाबादमा आयोजना हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् । सम्मेलनमा सहभागी हुनकै लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई निम्तो दिएका छन् ।

प्रधानमन्त्री बनेपछि देउवाको यो दोस्रो विदेश भ्रमण र भारतको पहिलो भ्रमण हुनेछ। तर यो प्रधानमन्त्री देउवाको राजकीय भ्रमण भने होइन । यसअघि उनी जलवायु सम्बन्धी शिखर सम्मेलनमा सहभागी हुन स्कटल्याण्ड गएका थिए।

नेपाल र भारतका परराष्ट्र मन्त्रालयले यही साता देउवाको भारत भ्रमणको मिति र कार्यक्रम एकैसाथ सार्वजनिक गरिने परराष्ट्र मन्त्रालय स्रोतले जनायो । स्रोतले भन्यो, ‘भ्रमणको मिति र कार्यक्रम तय भइसकेको छ, तर दुबैतर्फबाट यो सार्वजनिक गरिने भएकाले केही समयका लागि रोकिएको हो।’

प्रधानमन्त्री देउवाका सबै भेटवार्ता गुजरातमै हुने तय भएको छ । भारतीय प्रधानमन्त्री मोदी गुजरातमै हुने भएकाले नयाँ दिल्लीमा यसपटक भेटवार्ता नहुने प्रधानमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री २५ पुसमा नयाँ दिल्ली ट्रान्जिट भएर अपराह्न गुजरात पुग्नेछन् । भारतीय समकक्षी मोदीले विदेशी राष्ट्रप्रमुख, सरकारप्रमुख एवं प्रतिनिधिमण्डलका लागि आयोजना गर्ने स्वागत समारोहमा देउवा सहभागी हुनेछन् । उनीसहित आधा दर्जन सरकार–राष्ट्रप्रमुख गुजरात सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाले भ्रमणको दोस्रो दिन २६ पुसमा भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यही दिन उनले भारतीय समकक्षी मोदीसँग द्विपक्षीय औपचारिक वार्ता गर्नेछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा