प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत्को खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताएका छन् ।
शुक्रवार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युत्को खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको र आजबाट यो समस्या समाधान हुने बताएका हुन् ।
उनले विद्युत् सप्लाई नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति डिमाण्ड आए पनि सप्लाई गर्ने स्थितिमा रहेको बताए । उनले काठमाडौँ उपत्यकामा अब ९ वटा सबस्टेशन थपिँदै भएकोले उक्त सबस्टेशन बनिसकेपछि दीर्घकालीन रूपमा उपत्यकामा २ हजार मेगावाटको विद्युत् सप्लाई गर्न सक्ने बताए ।
प्रमुख कार्यकारी निर्देशक घिसिङले केही ट्रान्सफर्मरहरू लोडअनुसार फेरिरहेको र केही फिडरहरुमा आगलागी भएको कारणले यी समस्या आइरहेको बताए ।
घिसिङले भने, ‘विगत ३÷४ दिनदेखि विद्युत् आपूर्तिमा केही समस्याहरू देखियो भन्ने जनगुनासोहरू आयो । यो समस्या देशभित्र सबैतिर भएको समस्या होइन । काठमाडौँमा मात्रै हो । यो सप्लाइको कारणले भएको समस्या होइन । सप्लाई नपुगेको हुनाले हामीले आपूर्ति नभएको पनि होइन । काठमाडौँका सबै ठाउँमा यो समस्या आएको पनि होइन । केही ठाउँहरूमा मात्र समस्या भएको हो । वास्तवमा हाम्रो विद्युत्को बेलुकाको पिक लोड अहिले करिब १७ सय मेगावाट र बिहानको करिब साढे १५ सयदेखि १६ सय मेगावाट पिक लोड आइरहेको छ । त्यसमा हामीले सप्लाई गर्न सकिरहेका नै छौँ ।
अपर तामाकोशी आइसकेपछि बिहान र बेलुकाको पिकलाई सहज भएको छ । काठमाडौँमा जाडो बढे लगत्तै विद्युत्को खपत बढ्नु स्वाभाविक हो । विगत वर्षभन्दा अहिले ८० देखि १०० मेगावाट काठमाडौँको लोड बढेको छ । पानी परेपछि ठाउँ ठाउँमा हाम्रो लोडहरू अनएक्सपेक्टेड रुपले बढ्यो । त्यसले गर्दा सिस्टममा सबस्टेशनबाट फिडरहरु निस्किन्छ, काठमाडौँ भित्र धेरै सबस्टेशनहरु छन् । जसले काठमाडौँ भित्रको लोडलाई सप्लाई गरिरहेको छ ।
सबस्टेशनहरुबाट निस्केको धेरै फिडरहरुमध्ये, त्यसमा पनि धेरै ट्रान्सफर्मरहरू हुन्छन्, काठमाडौँ उपत्यकामा मात्रै करिब ३७ सय ट्रान्सफर्मरहरू छन् । त्यसबाट हाम्रो आ उपभोक्तालाई सप्लाई हुन्छ । यदि फिडरमा नै समस्या आएको छ भने १०÷२० वटा ट्रान्सफर्मरहरूमा समस्या आउने हुन्छ । अहिलेको मेजर समस्या वितरण ट्रान्सफर्मरहरू ओभरलोड भएको हो । लोडअनुसार हामीले ट्रान्सफर्मरहरू फेर्ने काम गरिरहेका छौँ । केही फिडरहरुमा पनि आगलागी भयो । केही स्थानमा भने ट्रान्सफर्मरहरू पछि पनि केबलहरू घरमा जान्छ, त्यसमा आगलागी भएकोले फेर्दा समस्या आएको हो ।’