शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एक महिनादेखि विभागमै थन्कियो १४ लाख स्मार्टकार्ड, किन सुरु भएन छपाइ ?


  • सोमबार, पुष १२ २०७८
10.7K
SHARES

प्रतिकात्मक तस्बिर

यातायात व्यवस्था विभागले खरिद गरेको १४ लाख स्मार्टकार्ड आएको एक महिना भइसके पनि छपाइ सुरु भएको छैन । सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु नहुँदा लामो समयदेखि प्रतिक्षारत सेवाग्राहीले लाइसेन्स पाएका छैनन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे प्रक्रिया पूरा गरेर मात्रै छपाइ सुरु गर्नुपर्ने भएकाले केही ढिलो भएको बताउँछन् । ‘‘पुनः लाइसेन्स छपाइ र वितरणमा समस्या नआउने गरी तयारी गरिरहेका छौँ । अबको केही दिनमै लाइसेन्स छपाइ सुरु गर्छौँ । छाप्नुअघि पूरा गर्ने प्रक्रिया अझै पूरा भएको छैन,” महानिर्देशक घिमिरेले भने ।

विभागका अनुसार अबको केही दिनमा दैनिक १० हजार स्मार्ट लाइसेन्स छपाइ सुरु गरिनेछ । १० लाखभन्दा धेरै सेवाग्राही स्मार्ट लाइसेन्सको पर्खाइमा छन् । यस अघि विभागमा स्मार्टकार्ड अभाव हुँदा छपाइ रोकिएको थियो ।

पहिला खरिद गरिएका स्मार्टकार्ड सकिएपछि विभागले गत वर्ष टेण्डर आह्वान गरेको थियो । टेण्डर आह्वानपछि विभागले नेपाल फ्रान्स संयुक्त कम्पनी सेल्फलाई ठेक्का दिएको थियो । विभाग र निर्माण कम्पनीबीचको सम्झौता बमोजिम तीन महिनामा १४ लाख स्मार्टकार्ड उपलब्ध गराउनुपर्ने थियो । तर, कोरोना महामारीलगायत विभिन्न कारण देखाउँदै कार्ड ल्याउन नसकिएको विभाग बताउँदै आएको थियो ।

सम्झौताको एक वर्ष पछि मात्रै कम्पनीले विभागलाई स्मार्टकार्ड उपलब्ध गराएको थियो । उक्त स्मार्टकार्ड गएको मंसिर ८ गते बुधबार भन्सारमार्फत कार्ड विभागमा आइपुगेको थियो ।

विभागले त्यसपछि स्मार्टकार्ड टेष्टका लागि स्याम्पल कार्ड पठाएको थियो । अहिले उक्त स्याम्पल कार्डको सफ्ट रिपोर्ट आएको महानिर्देशक घिमिरेले बताए । ‘‘स्मार्टकार्डको स्याम्पल टेष्टको सफ्ट कपी विभागमा आएको छ । अहिले हार्ड कपीमा टेष्ट रिर्पोट लिइरहेका छौँ । उक्त हार्डकपीको टेष्ट रिपोर्ट आउने वित्तिकै लाइसेन्स प्रिन्ट सुरु गर्छौँ,” उनले भने ।

विभागले हाल ड्राइभिङ पेसामा विदेशिने, विद्यार्थीलगायत अत्यावश्यकका चालकहरुलाई मात्रै लाइसेन्स वितरण गरिरहेको छ ।

पहिले स्मार्ट लाइसेन्स छाप्ने सफ्टवेयर भारतीय कम्पनी मुद्रास सेक्युरिटी पे्रेस प्रिन्टर्सको नियन्त्रणमा थियो । उक्त सफ्टवेयर विभागको नियन्त्रणमा ल्याइएको पनि महानिर्देशक घिमिरेले बताए । उनले अब स्मार्ट लाइसेन्स छाप्ने सफ्टवेयर विभागको नियन्त्रणमा चल्ने भएकाले पनि छपाइमा प्राविधिक समस्या कम हुँदै जाने बताए ।

वर्षौंदेखि सेवाग्राहीले लाइसेन्स नपाएकाले १४ लाख स्मार्ट कार्डले सबैलाई पुग्दैन । विभागले सबै स्मार्टकार्ड वितरण सकाएर पुनः टेण्डर आह्वान गरिने जनाएको छ । यद्यपी, स्मार्टलाइसेन्स खारेज नहुने पनि महानिर्देशक घिमिरेले स्पष्ट पारे ।

‘‘स्मार्ट लाइसेन्स खारेज हुने होइन । हाल वितरण परीक्षणकालीन लाइसेन्स स्मार्ट लाइसेन्सको विकल्प पनि होइन । परीक्षणकालीन लाइसेन्स भर्खर परीक्षा पास गरेर स्मार्ट लाइसेन्स लिन योग्यलाई दिइने हो । यसले स्मार्ट लाइसेन्सको महत्त्व र अनुशासित र संयमित तरिकाले सवारी हाँक्न सिकाउँछ,” महानिर्देशक घिमिरेले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा