बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

टेकु अस्पतालमा बढे कोरोना संक्रमित, संक्रमण दर भने २ प्रतिशतमै यथावत्


  • शुक्रबार, पुष ९ २०७८
3.9K
SHARES

फईल तस्बिर

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा आइसियूमा भर्ना हुने कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। अस्पतालका निर्देशक डाक्टर मनीषा रावलले पछिल्लो सातादेखि आइसियूमा भर्ना हुने संक्रमितको संख्या क्रमिक रूपमा बढ्न थालेको जानकारी दिइन्।

‘आइसियूमा केस बढेको हो। तीन साताअघि दुई-चार जना संक्रमित रहेकोमा पछिल्लो साता बिस्तारै त्यो संख्या छ/सात हुँदै आज आठ पुगेको छ,’ निर्देशक रावलले भनिन्।

आइसियूमा भर्ना हुने संक्रमितको संख्या बढे पनि अहिले नै संक्रमण बढ्न थालेको भनेर बुझ्न नहुने उनको भनाइ छ।

‘अरू अस्पतालमा पनि संक्रमित बढ्न थालेको भन्ने सुनिएको छैन। टेकु अस्पतालमा पनि आइसियूमा भर्ना हुनेको संख्या पहिलेको तुलनामा कम नै हो। अब केही दिनमा यो संख्या बढेर दोब्बर अंकमा पुग्यो भने संक्रमण बढेको हो कि भन्न सकिन्छ। त्यसैले अहिले ठ्याक्कै संक्रमण बढेको भनेर भन्न सकिन्न,’ उनले भनिन्।

उपत्यकाकाका अरू अस्पतालमा कोरोना संक्रमित बढेको देखिँदैन। ललितपुरको पाटन अस्पतालमा अहिले ३० जना कोरोना संक्रमित उपाचररत् छन्। तीमध्ये दुई जना आइसियूमा छन्। अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले एक महिनादेखि संक्रमितको संख्या ३० भन्दा कम रहेको र आइसियूमा पनि दुई/चार जना मात्रै उपचाररत् रहेकाले संक्रमण नबढेको बताए।

एकदिनको तथ्यांकलाई आधार मानेर संक्रमण बढेको भन्न मिल्दैन। निरन्तर बढ्दै गएको अवस्थामा मात्र संक्रमण बढेको मान्न सकिन्छ। कहिलेकाहीँ थपघट भइहाल्छ नि,’ निर्देशक शाक्यले भने, ‘हाम्रो विज्ञ टिमको विश्लेषणमा अहिले संक्रमण बढेको भन्ने छैन।’

महाराजगन्जस्थित टिचिङ अस्पतालका निर्देशक डाक्टर दिनेश काफ्लेले पनि अहिले कोरोनाको संक्रमण नबढेको बताए। टिचिङ अस्पतालमा केही समयदेखि २०/२२ जना संक्रमित रहेको उनले जानकारी दिए।

‘आज पनि २२ जना संक्रमित उपचाररत हुनुहुन्छ। ८ जना आइसियूमा हुनुहुन्छ। त्यसैले अवस्था यथावत् छ, संक्रमण बढेको छैन,’ उनले भने।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा