नेपाली काँग्रेसमा १४ औँ महाधिवेशनबाट १३ पदाधिकारी र ८४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । काँग्रेसको नयाँ विधान अनुसार १३४ जना निर्वाचित भएर आउने व्यवस्था छ ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बुधबार मध्यान्हसम्म ९७ पदमा भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । १३ पदाधिकारीमा मध्ये सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।
यस्तै ८ सहमहामन्त्रीमा किशोरसिंह राठौर, भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय (डिना), जीवन परिवार, महेन्द्र यादव, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी र बद्री पाण्डे निर्वाचित भएका छन् ।
कोइराला प्यानलबाट उपाध्यक्ष गुरुङ, महामन्त्री थापा, सहामहामन्त्री पाण्डे र परियार निर्वाचित भएका छन् । यस्तै प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा शर्मा निर्वाचित भएका छन् ।
प्यानलसहित सभापतिका प्रत्यासी बनेका विमलेन्द्र निधि निकट एक जना पनि केन्द्रीय कार्यसमितिमा आउन सकेका छैनन् ।
यता काँग्रेसमा १२१ केन्द्रीय सदस्य निर्वाचित हुनेमा अहिलेसम्म ८४ जनाको परिणाम आएको छ । ३५ खुल्लातर्फ, २१ भूगोलतर्फ, ९ महिला खुल्लातर्फ, ९ मधेसी खुल्लातर्फ, ४ थारु खुल्ला र ३ मुस्लिम खुल्लातर्फका केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएको हो ।
यस्तै अपाङ्गता, अल्पसंख्यक र पिछडिएका क्षेत्रतर्फका केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएको हो ।
देउवा प्यानलबाट ६९, कोइराला प्यानलबाट १३ र सिंह प्यानलबाट १ जना केन्द्रीय सदस्य जितेका छन् । निर्वमान महामन्त्री शशांक कोइरालाले भने आफू साझा उम्मेदवारको रुपमा विजयी भएको बताएका छन् ।
अहिलेसम्म परिणामा देउवा पक्षले ८२ प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यमा जितेको छ ।