राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ओलीको चुनाव क्षेत्रमा एमालेका ४ सय कार्यकर्ता राप्रपामा प्रवेश गराएको दाबी गरेका छन् । कांग्रेस माहाधिवेशनको उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष ओलीले लिङदेनलाई बाच्छोको संज्ञा दिएर टिप्पणी गरे पछि एति बेला लिङदेन गृह जिल्ला झापामा पार्टीको कार्यक्रममा सक्रिय रहेका छन् ।
शनिबार झापा पुगेका उनी ओलीको निर्वाचन क्षेत्रको दौडाहामा देखिएका छन् । लिङ्देन यो बीचमा दमक र गौरादह नगरपालिका तथा गौरीगञ्ज र कमल गाउँपालिकाका विभिन्न स्थानमा पार्टीको कार्यक्रममा सहभागी भए ।
यस क्रममा उनले ओलीकै निर्वाचन क्षेत्रका एमालेका ४०० बढी नेता– कार्यकर्तालाई राप्रपामा भित्र्याएका छन् । ओलीको ‘शब्द बाणलाई फिल्डबाटै जवाफ दिन’ लिङ्देन झापा आएको राप्रपाका एक नेताले बताए । यद्यपि लिङ्देनले ओलीविरुद्ध त्यस्तो कुनै कडा टिप्पणी भने गरेको अवस्था छैन ।
६ महिनाभित्र समान विचारधारा भएका पार्टी र संघसंगठनलाई एकता प्रक्रियामा सहभागी गराउने उद्घोष गरेका लिङ्देनले झापामा मूलतः संगठन सुदृढीकरण र ओलीको क्षेत्रमा आफ्नो प्रभाव देखाउन दौडधूप बढाएको राप्रपा नेताहरु बताउँछन् । ओलीको निर्वाचन क्षेत्र झापा ५ हो भने लिङ्देन ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए ।
राप्रपा र एमालेबीच झापामा सहकार्य भए पनि ओलीले विगतलाई भुलेर राजेन्द्र लिङ्देनलाई ‘बाच्छो’ भन्नु गलत भएको झापाका राप्रपाका कार्यकर्ता बताउँछन् । पौडेलले पनि ओलीबाट जुन अभिव्यक्ति आयो, त्यो राजनीतिक नभएको प्रतिक्रिया दिए । उनले भने, ‘एमालेजस्तो राष्ट्रिय पार्टी हुन नसकेता पनि आम रुपमा हाम्रो पनि ७७ जिल्लामा संगठन छ । यति तल पारेर भन्न हुन्थेन कि भन्ने हो । दिल्लीमा विगतमा एक सिट पनि नजितेको आम आद्मी पार्टीले अहिले बहुमत ल्याएर शासन गरिरहेको अवस्था छ । कुनै बेला नरेन्द्र मोदीको भाजपा पनि कमजोर थियो । अहिले कमजोर रहेको राप्रपा पनि भोलि एक सिटमात्रै जितेर बसिरन्छ भन्ने छैन ।’
झापाको मतदाताको सन्तुलन नै विशिष्ट भएकाले एकापसमा सम्झौता गर्नुपर्ने अवस्था रहेको स्थानीय नेताहरु बताउँछन् । ०६४ को चुनावमा बहुमत नजिक ल्याएको माओवादी ०७० मा आइपुग्दा तेसो पार्टी बनेको दृष्टान्त प्रस्तुत गर्दै उनले राप्रपालाई पनि सही दिशा दिन सकिने र कसैले पनि कसैलाई होच्याइनु ठीक नहुने पौडेलले बताए ।