नेवारी समुदायमा चामलको पिठो र चाकुको मिश्रणबाट बनाइने योमरीसँग जोडेर यो पूर्णिमाको दिन नै योमरी पुन्हि नाम राखिएको छ ।
नेवारी समुदायले आज योमरी पुन्ही मनाउँदैछन् । चामलको पिठोबाट बनेको परिकार योमरी हो । जसमा चाकु र खुवा भित्र हालेर अण्डाकार रुपमा डल्लो बनाइएको हुन्छ ।
नयाँ बालिका रूपमा भित्र्याइएको नयाँ धानको चामल पिसेर त्यसबाट बनाइएको एक किसिमको परिकार योमरी बनाएर नेवार समुदायले योमरी पुन्ही मनाउँछन् ।
पीठोको रोटीभित्र चाकु र तिलको मिश्रणले तयार पारिएको खुवा हालेर योमरी बनाइन्छ ।
पछिल्लो समय काठमाडौं उपत्यका योमरीको आर्कषण बढ्दै गएको छ । परम्परादेखि कृषि पेशा गर्दै आएको नेवार समुदायका ज्यापुहरु र योमरीको अन्योन्याश्रित सम्बन्ध रहँदै आएको छ ।
चामलको पीठो, चाकु, कालो तिलको योमरी बनाएर बेलुकी यस वर्ष भित्र्याएको अन्नबाली, भकारी पूजा गर्ने चलन छ । त्यस्तै, भकारी पूजा गर्दा चामलको पीठोको कुबेर, लक्ष्मी र गणेशको मूर्ति बनाएर पूजा गर्ने गरिन्छ ।
यो दिनलाई लक्ष्मीपूजाको रूपमा मनाउने गरिन्छ । यसरी पूजा गरेमा वर्षभरी अन्न अभाव नहुने जनविश्वास छ ।
जाडोमा मास र चाकुलगायतका शरीरमा ताप बढाउने सामग्रीबाट रोटी बनाएर खाने पर्वका रूपमा यो पूर्णिमा मनाउने गरिएको हो ।
के हो योमरी ?
‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाइ हो । सबैलाई मनपर्ने भएकाले नै यसको नाम योमरी राखिएको संस्कृतिविदहरु बताउँछन् ।
योमरीलाई कुवेर र गणेशका प्रतीकका रुपमा समेत लिइन्छ । आजको दिनलाई सकिमना पुन्ही अर्थात् पिँडालु उसिन्ने पूर्णिमाका रुपमा पनि नेवार समुदायले मनाउने गर्दछन् ।
काठमाडौं उपत्यकामा दसैंतिहारपछि विस्तारै जाडो बढ्न सुरु हुन्छ। पुस लाग्दै आउँदा जाडोको मात्रा पनि बढ्दै जान्छ।
सकिमना पुन्हीमा पिडालु र भुटेको गेडागुडी खाएर शरीरलाई चाहिने ऊर्जा र ताप लिएका नेवारहरु पुसमा बढ्ने जाडोबाट बच्न तथा शरीरलाई आवश्यक पर्ने ताप र ऊर्जा प्राप्त गर्न योमरी खान्छन्।