मध्यवानेश्वरस्थित एपेक्स कलेज कान्तिपुर मिडिया समूहले खरिद गरेको छ।
कांग्रेस नेता मिनेन्द्र रिजालसहित अन्य पाँचजनाको स्वामित्व रहेको एपेक्सको सम्पूर्ण स्वामित्व कान्तिपुर समूहले खरिद गरेको हो।
कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाका छोरा सम्भव सिरोहियाको नाममा शतप्रितशत सेयर स्वामित्व राखेर कलेज खरिद भएको हो।
मध्यवानेश्वरको मुल बाटोमै ४० आना जमीन र त्यसमा रहेको सम्पूर्ण भवन संरचनाहरु कलेजको आफ्नै हो।
खासगरी व्यवस्थापन संकायअन्तर्गत स्नातक र स्नातकोत्तर तहमा विभिन्न विषयमा पढाइ हुँदै आएको एपेक्सको वार्षिक कारोबार १५ करोड रुपैयाँ हाराहारी रहेको छ। केही वर्षअघिसम्म एपेक्सले इन्जिनियरिङ विषय पनि पढाउँथ्यो। त्यतिबेला यसमा ८ सय हाराहारी विद्यार्थी थिए। अहिले भने स्नातकमा सूचना प्रविधितर्फ इन्फर्मेशन सिस्टमको एउटा विषयबाहेक अन्य सबै व्यवस्थापन संकायको पढाइ हुन्छ। यतिबेला विद्यार्थी पनि १५ सयभन्दा बढी पुगेको कलेज स्रोतको भनाइ छ।
यो सबै विद्यार्थी संख्या, प्रोपर्टी र एपेक्सको २१ वर्षको साखको ब्रान्ड भ्यालुसहितको समग्र मूल्यांकन गरेर सिरोहियालाई कलेज बिक्री गरिएको बुझिएको छ।
सन् २००० मा स्थापना भएको एपेक्समा रिजाल दप्पत्ती (दुर्गा रिजालसहित) को मुख्य लगानी थियो। यसबाहेक प्रा. प्रेमराज पन्त, एलपी भानु शर्मा, टीका उप्रेती र विनयकुमार शर्माको स्वामित्वमा रहेको थियो। सिरोहियाले कलेज खरिद गरेसँगै यी सबै लगानीकर्ता अहिलेलाई एपेक्सबाट बाहिरिएका छन्।