शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद् चल्न दिने कुरो आउँदैन : ओली


  • शुक्रबार, मंसिर १७ २०७८
7K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २८ गते बोलाइएको संसद अधिवेशन पनि चल्न नदिने संकेत गरेका छन् । शुक्रबार पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले आफूहरुले वैधानिक ढंगले निष्कासन गरेका सांसदलाई राखेर सभा चल्न नसक्ने जिकिर गरे ।

‘(संसद) किन बोलाइएको हो, सरकारी पक्ष कसरी प्रस्तुत हुन्छ त्यसबाट थाहा होला’ उनले भने, ‘हामीले निष्कासन गरेका व्यक्तिहरु संसदमा राखेर संसद कसरी चल्न सक्छ ? नियमले गैर सांसदलाई सभामा बस्न दिँदैन ।’

अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमालेविरुद्ध सत्तारुढ गठबन्धनसँग अनुचित सम्बन्ध राखेको बताए । सभामुखले अवैध ढंगले आफ्नो पार्टी फुटाएको पनि उनले बताए । संसदको अघिल्लो अधिवेशन नेकपा एमालेका सांसदले अवरोध गरेको थियो ।

तत्कालिन नेकपा एमालेमा रहेका माधवकुमार नेपालसहितका सांसदहरुलाई पार्टीले कारबाही गरी संसदलाई जानकारी गराए पनि सभामुखले बेलैमा सुनुवाइ नगरी पद कायम गरिदिएको भनी एमाले सभामुखसँग रुष्ट छ ।

अध्यक्ष ओलीले व्यवस्थापिका सबैतिर समस्या देखिएको भन्दै यसको समाधान ताजा जनादेशबाट मात्र हुने बताएका छन् । ‘अन्ततोगत्वा निर्वाचनमै जानुपर्छ, ताजा जनादेशमा जानुपर्छ । ताजा जनादेशबाट समस्याको समाधान खोज्नुपर्छ’ उनले भने, ‘हामीलाई विश्वास छ, ताजा जनादेशबाट समस्याको समाधान निस्कन्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा