शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पौडेलको किल्ला भत्कियो, देउवाको सानदार जित


  • बुधबार, मंसिर १५ २०७८
12.7K
SHARES

काठमाडौँ – नेपाली कांग्रेसभित्र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा छ कोइराला परिवारको लिगेसी । पूर्वी नेपालमा अघिल्लो महाधिवेशनका बेला कोराइला परिवारको राम्रो उपस्थिति रहेको थियो ।

बरिष्ठ नेता रामचन्द्र पौडेल – कोइराला परिवार पक्षको एकछत्र वर्चश्व रहेको प्रदेश १ मा १४ औं महाधिवेशनसम्म आइपुग्दा सभापति शेरबहादुर देउवा पक्षले बलियो उपस्थिति देखाएको छ।

देउवा पक्षले सिटौला समूहसँग सहकार्य गरेर पौडेल–कोइराला पक्षलाई थप चुनौती दिने तयारीमा लागेको छ।

कांग्रेस स्रोतका अनुसार झापा र मोरङको चुनावमा सहकार्य गरेका सभापति देउवा र नेता कृष्णप्रसाद सिटौलाबीच नेपाली कांग्रेसको प्रदेश अधिवेशनमा पनि गठबन्धन बन्ने निश्चितप्रायः भएको छ।

मंसिर १७ मा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्दै सुरू हुने अधिवेशनले पहिलोपटक प्रदेश समिति छान्नेछ।

सभापति देउवा पक्षले सिटौला पक्षसँग मिलेर चुनाव लड्ने तयारी गरेको भनिए पनि प्रदेशका नेताहरू यसबारे अहिलेसम्म खुलेका छैनन्।

झापा र मोरङमा देउवा सिटौला सहकार्यमा चुनाव लड्दा यो समूहले झापामा सफलता पाइसकेको छ भने मोरङमा मंगलबार दोस्रो चरणमा मतदान जारी छ।

‘केन्द्रीय नेताहरूले मुख नखोलेसम्म हामीले भन्न मिल्दैन तर सम्भावना हामी मिलेर जाने भन्ने नै छ,’ झापा कांग्रेसका एक नेताले सेतोपाटीसँग भने ‘केन्द्रमा लगभग मिलेको छ। प्रदेशमा पनि त्यही होला।’

ती नेताले दिएको जानकारी अनुसार मोरङ चुनावका दौरानमा कृष्णप्रसाद सिटौला दुई दिनसम्म विराटनगरमै बसेर देउवा पक्ष र आफ्नो समूहको मिलन गराएका थिए।

सिटौलाले मनाएपछि विराटनगर महानगर प्रमुख भीम पराजुलीसहितको टिम देउवा पक्षका उम्मेदवारको पक्षमा खुलेका थिए।

संस्थापन पक्षका नेता अमृत अर्यालले यसबारे अहिल्यै बोलिहाल्न नमिल्ने बताए। कोइराला परिवारको लामो राजनीतिक विरासतसहितको प्रभाव रहेको प्रदेश १ मा अब देउवा पक्षको उपस्थिति शक्तिशाली रहने उनले दाबी गरे।

‘१३ औं महाधिवेशनसम्म हामी दुइटा जिल्ला सभापतिमा सीमित थियौं,’ उनले भने ‘अहिले हाम्रो सफलता देख्नुभएकै छ। ढुक्क हुनुस् यही अवस्था प्रदेशमा पनि देखिनेछ।’

उनले भने जस्तै यसपटक प्रदेशका जिल्ला सभापतिहरूमा कोइराला–पौडेल समूहसँग देउवा पक्षले बराबरी संख्यामा सफलता पाएको छ।

अधिवेशनको व्यस्ततामा रहेको सत्तारूढ कांग्रेसभित्र देउवा र उनीइतर पक्षबीच तीव्र प्रतिष्पर्धा छ। यही क्रममा प्रदेश १ मा पनि देउवा र इतर पक्षबीचको चुनावी होड यतिबेला पेचिलो बन्दै गएको छ।

प्रदेश १ मा यसपटक सभापति शेरबहादुर देउवा पक्षले उल्लेख्य सफलता हात पारेको छ।

कोइराला परिवारको एकछत्र प्रभाव रहेको मोरङमै पनि देउवा पक्षले महाधिवेशन प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिहरूमा उल्लेख्य उपस्थिति देखाएको छ।

१३ औं अधिवेशनमा प्रदेश १ का १० जिल्लामध्ये आठ जिल्लामा कोइराला पक्षको एकल नेतृत्व स्थापित हुँदा देउवा पक्षले ओखलढुंगा र धनकुटा सभापति मात्रै जितेको थियो।

१४ औं महाधिवेशनसम्म आइपुग्दा देउवाले प्रदेश १ मा उल्लेख्य शक्ति विस्तार गरेका छन्। पछिल्लो चुनावी नतिजाले यही देखाएको छ।

हालसम्म प्रदेश १ का १४ जिल्लामध्ये ११ जिल्लाको सभापति चयन भइसकेका छन्। जसमा ५ वटामा रामचन्द्र पौडेल(शेखर कोइराला पक्षका सभापति छानिएका छन् भने पाँच वटामा देउवा पक्षका सभापति चुनिएका छन्।

त्यसमध्ये झापामा सिटौला पक्षका सभापति छानिएका छन्। देउवा र सिटौला सहकार्य हुने भएपछि संस्थापनमा ६ जना जिल्ला सभापति भएका छन्।

धनकुटामा मतदान जारी छ भने सोलुखुम्बु र मोरङमा मंगलबार दोस्रो चरणको निर्वाचन जारी छ। मोरङमा पनि कोइराला पक्षविरूद्ध सिटौला देउवा मिलेका छन्।

नतिजा आइसकेका ११ जिल्लामध्ये देउवा (संस्थापन) पक्षबाट जिल्ला सभापति बन्नेहरूमा गजेन्द्र तुम्याहाङ ताप्लेजुङ, रूपनारायण जबेगु पाँचथर, तेजेन्द्र खनाल ओखलढुङ्गा, डम्बर खड्का इलाम, हिमाल कार्की उदयपुर छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल र शेखर कोइराला पक्षबाट जिल्ला सभापति निर्वाचित हुनेहरूमा दीपक खड्का संखुवासभा, अर्जुनबहादुर तुम्बाहाम्फे तेह्रथुम, विष्णुकुमार राई खोटाङ, विनोद बान्तवा भोजपुर र केदार भण्डारी सुनसरी छन्।

त्यसैगरी झापामा कृष्णप्रसाद सिटौला निकट देउमान थेवे जिल्ला सभापतिमा निर्वाचित भएका छन्। केन्द्रमा सिटौला–देउवा गठजोड बनेका कारण झापा सभापतिलाई पनि देउवा पक्षमै गणना गरिने कांग्रेस नेताहरू बताउँछन्।

कोइराला पक्षले बारम्बार पार्टी र राज्य दुवै सत्ताको दुरूपयोग गरेर जिल्ला अधिवेशन गरिएको आरोप लगाउँदै आएको छ। नेता शेखर कोइरालाले प्रदेश १ कै कतिपय जिल्लामा धाँधली भएको गुनासो सार्वजनिक रूपमा गर्दै आएका छन्।

तर, संस्थापन पक्ष भने निरन्तरको मेहनतले यो सफलता सम्भव भएको बताउँछ। ‘हामी निरन्तर कार्यकर्ता र जनताको माझमा पुगिरह्यौं, यो सफलताको मुख्य कारण नै यही हो,’ उदयपुर सभापतिमा निर्वाचित प्रदेश १ का भौतिक पूर्वाधार मन्त्री हिमाल कार्कीले भने।

प्रदेशमा सिटौलासँगको सहकार्यले झापामा अवस्था सुदृढ हुने अपेक्षा देउवा पक्षको छ। तर, सिटौला प्रभाव ठूलो नभएका कारण यसले चुनावी नतिजामा असर नगर्ने पौडेल कोइराला पक्षको भनाइ छ।

‘हामीलाई प्रदेशमा कुनै समस्या छैन,’ संस्थापनइतर समूहका नेता एवं प्रदेशका आन्तरिक मामिला मन्त्री केदार कार्कीले भने ‘मोरङसहितका जिल्लामा हामी बलियो अवस्थामा छौं।’

प्रदेश १ मा सभापति देउवा पक्षबाट मोरङका अमृत अर्याल र ओखलढुंगाका रामहरि खतिवडा सभापतिका आकांक्षी छन्। तर, खतिवडा केन्द्रमै रहने प्रयासमा लागेका छन् भने अर्याल प्रदेश सभापतिको लगभग एकल दौडमा छन्।

तर, सिटौला समूहसँग सहकार्य हुँदा यो समूहमा सिटौला पक्षका झापाली नेताहरू सुधीर शिवाकोटी र उद्धव थापा पनि प्रतिष्पर्धाको दौडमा हुनेछन्। उनीहरू दुवै दुई कार्यकाल झापा सभापति भएका नेता हुन्।

पौडेल–कोइराला समूहबाट प्रदेश नम्बर १ को सभापतिमा केन्द्रीय सदस्य गुरूराज घिमिरे र राजीव कोइराला आकांक्षी छन्।

कांग्रेस सभापतिको दाबी गरिरहेका डा। शेखर कोइराला, कृष्णप्रसाद सिटौला, उपसभापति दाबी गरेका महेश आचार्य, हालका उपसभापति विजयकुमार गच्छदार, महामन्त्री दाबी गरेका प्रवक्ता विश्वप्रकाश शर्मा, मिनेन्द्र रिजाल, परराष्ट्र मन्त्री नारायण खड्का लगायत हेभिवेट नेताहरूको गृह प्रदेशमा वर्चश्वको लडाइँ चल्ने कांग्रेस नेताहरू बताउँछन्।

‘सबैलाई प्रदेशमा वर्चश्व स्थापित गर्नुपर्ने चुनौती छ,’ कांग्रेस महाधिवेशन प्रतिनिधि खड्ग धिमाल भन्छन्, ‘यस्तो बेलामा शक्ति आर्जनको दौड स्वाभाविक हो।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा