नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अहिले प्रधानमन्त्री पदमा नभए पनि प्रधानमन्त्रीभन्दा कम नभएको बताए सँगै अरूले तपाई नभने पनि आफै मपाईँ बन्ने प्रवृत्ति प्रचण्डले देखाउने गरेको प्रस्ट भएको छ ।
कैलालीको भजनी नगरपालिकाको प्रशासकीय भवन उदघाटन कार्यक्रममा प्रचण्डले बुधबार सो अभिव्यक्ति दिएका हुन् । कार्यक्रममा प्रचण्डले भने, ‘हुन त अहिले म प्रधानमन्त्री छैन । तर प्रधानमन्त्रीभन्दा कम पनि छैन ।’
आफूले भनेको नमान्दा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीको प्रधानमन्त्री पद गुमाउनु परेको बताउँदै प्रचण्डले यसपटक भने त्यसो नहुने बताए । प्रचण्डले भने, ‘मैले भन्याजति केही काम नगर्ने कसम खाए केपी ओलीले । त्यही भएर उनी बालुवाटारबाट बालकोट पुगे । अहिले सातै प्रदेशबाट सरकारबाट हात धुनुपर्या छ ।’
उनले अगाडि भने, ‘मैले त एउटा सपना देखेको थिएँ, कम्युनिष्टलाई एक गरेपछि देशमा स्थायीत्व होला, छिटोछिटो विकास होला, सामाजिक न्याय होला भनेर केपी ओलीलाई मैले नै दुईचोटी प्रधानमन्त्री बनाएँ । तर ती नायक होइन, खलनायक परेछन् । भिलेन पर्या हुनाले मैले भनेको जति केही काम नगर्ने ।’
ओली नेतृत्वको अघिल्लो सरकारलाई प्रचण्डले ‘झुटो बोल्न सिपालु सरकार’ भनेर टिप्पणी गरे ।