
प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईलाई लक्षित गर्दै भ्यागुताको कथा सुनाएपछि बाबुरामले कथाबाट जवाफ फर्काएका छन्।
पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार समाजवादी पार्टीका नेतालाई पार्टी प्रवेश गराउँदै नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले देशमा डाक्टर कति छन्, एकजना मात्रै डाक्टर भए जस्तो भन्दै बाबुरामलाई ब्यंग गर्दै भ्यागुताको कथा सुनाएका थिए।
आफूलाई गरेको ब्यंगसहितको भिडियो ट्वीट गर्दै बाबुरामले प्रधानमन्त्रीलाई यस्तो कथामार्फत् जवाफ फर्काएका हुन्:
हाम्रो पालामा तीन कक्षामा पढाइने घमण्डी भ्यागुतोको कथा हालेर प्रमले श्रोताहरूलाई हँसाउनुभएछ। त्यो संगै निदुली नाम गरेका बाहुन कसरी काकताली परेर ठूलो ज्योतिषी कहलिन पुगेका थिए भन्ने कथा पनि सुनाइदिएको भए अझ ठूलो हाँसो फुट्थ्यो कि?
कथा यस्तो छ-निदुली बाहुन साँझमा ससुराली पुगेछन्। सासू भित्र सेलरोटी पकाउँदै रहिछन्। ज्वाइँ बाहिर पिंढीमा बसेर बाँसका सिन्का भाँच्दै रोटी गन्न थालेछन्। पकाइसकेपछि सासूले ज्वाइँलाई देखिछन् र चारवटा रोटी थालमा राखेर ज्वाइँलाई दिइछन्।
ज्वाइँले भनेछन्-‘रोटी पाके दुई बीस चार, ज्वाइँका भागमा किन चार?
ठ्याक्कै रोटीको संख्या मिलेपछि गाउँभर सासूले ज्वाइँ अब्बल ज्योतिष भएको प्रचार गरिछन्। गाउँमा धोबीको गधा हराएको रहेछ। धोबीले ज्वाइँसँग हराएको गधा पत्ता लगाइदिन भनेछन्। अब पर्यो फसाद!
भोलिपल्ट विहानैको शुभसाइतमा आउन आग्रह गर्दै मध्यरातमा सबै सुतेपछि ज्वाइँ टाप कसेछन्। भाग्दै जाँदा बाटोमा उखुवारीमा गधा चर्दै गरेको देखेछन्।
के खोज्छस् दृष्टिविहीनआँखा!
ज्वाइँ ससुराली घर फर्केर सुतेछन्। भोलिपल्ट जोखाना हेरेझैं गरेर धोवीलाई गधाको इतिवृत्त बताएछन्। अब के चाहियो? निदुलीको ख्याति राजदरबारसम्म पुगेछ। राजाले दरबारमा बोलाएछन् र हराएका हीरा-जवाहरत पत्ता लगाउन भनेछन्। बस्न कोठा दिएछन्।
अब पर्यो महाफसाद! भागौं, पहरा छ!
कोठामै बर्बराएछन्-‘रोटी गनीगनी जैसी कहाएँ, धोबीको गधा उखुवारी पाएँ। अब आयो निदूली तेरै काल!
पल्लो कोठामा सुतेकी नोकर्नीले सुनिछ। उसको नाउँ पनि निदूली रहेछ। उसले रूँदै आएर भनिछ-‘बाजे मेरो ज्यान बचाइदिनोस्, हीरामोती मैले चोरेर फलानो ठाउँमा राखेकीछु’
निदूली राजज्योतिषी बनेर धनधान्य भएछन्। अब आफै बुझौं हाम्रो अहिलेको राजज्योतिषी को हो?