नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लव समूह माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका छन् । ।
पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रचण्डले विप्लव माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका हुन् ।
उनले माओवादीबाट टुक्रिएर गएका अन्य नेताहरुसँग आफ्नो संवाद भइरहेको भन्दै मोहन वैद्य किरण, बाबुराम भट्टराई लगायतका सबै माओवादी मिलेर नै मौलिक क्रान्तिकारी धारलाई अघि बढाउन सकिने बताए ।
अध्यक्ष दाहालले आराम गर्दै, रमाइलो मान्दै रोमान्स जस्तो गरेर माओवादी क्रान्तिलाई अघि बढाउन नसकिने बताउँदै समाजवादतर्फ इमान्दार हुने कम्युनिष्टहरु ढिलोचाँडो पुरानो घरमा फर्किएर आउने र आफु अन्य कम्युनिष्ट शक्तिहरु संग एकता गर्दै अंकमाल गर्न तयार रहेको उद्घोष गरेका हुन् ।
अलग भएर होइन, एक ठाउँ भई नेपाली क्रान्तिलाई मौलिक तरिकाले अघि लान सकिन्छ,’ पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘एक्लै क्रान्ति गर्छु भन्दा क्षति मात्रै हुन्छ। विप्लवलाई अंकमाल गर्ने प्रतिक्षामा छु।’
पार्टी विभाजन गरी बाहिरिएका मोहन वैद्य र बाबुराम भट्टराईसँग एकताका लागि कुराकानी चलिरहेको पनि उनले बताए।
प्रतिक्रियावादीहरु माओवादी आन्दोलनका उपलब्धि उल्ट्याउने षड्यन्त्रमा लागिरहेको उनको आरोप छ।