काठमाडौँ — राष्ट्रिय जनगणनाको ‘मुख्य प्रश्नावली’ को व्यक्तिगत खण्डमा सोधिने पुर्खाको भाषा र मातृभाषा खण्डमा त्रुटि फेला परेको छ । जनगणना–२०६८ अनुसार मुलुकभर १ सय २३ भाषा छन् ।
ती भाषालाई कोड नम्बरका आधारमा पहिचान गरिएका छन् । कोड नं. ४३ मा ‘वाम्बुले’ भाषा रहेको छ । तर जनगणना–२०७८ का निम्ति तयार गरिएको उक्त कोडमा ‘याम्बुले’ उल्लेख गरिएपछि अन्योल भएको छ ।
‘हामीले पुर्खाको भाषा र मातृभाषा वाम्बुले हो भनेर बताउँदा गणकले त्यो छैन भन्यो,’ काठमाडौंको टोखा नगरपालिकाको धापासीबाट आफ्नो गणना गराएका चितन वाम्बुले राईले भने, ‘उसले कि याम्बुले लेख नत्र अन्यमा लेख्ने भनेपछि अन्योलमा प¥यौं ।’ विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रश्नावलीमा त्रुटि भएको स्विकार्दै त्यसलाई सच्याउन सम्भव नभएको बताए ।
‘लाखौं थान प्रश्नावली छापिएर जनगणना हुँदै छ,’ प्रवक्तासमेत रहेका लामिछानेले भने, ‘तत्काल त्रुटि सच्याउन सम्भव छैन । त्यसैले सम्बन्धित भाषिक समुदायले अहिले कोड नं. ४३ मा उल्लेख ‘याम्बुले’ नै टिपाउनुहोस् । डाटा प्रविष्टिका बेला त्यसलाई सच्याइनेछ ।’ राई जातिअन्तर्गत २६ वटा भाषा छन् । वाम्बुले भाषा ओखलढुंगा, खोटाङ, सिन्धुली, उदयपुर, सुनसरी, काठमाडौं, ललितपुरलगायत जिल्लामा बोलिन्छ ।
पछिल्लो तथ्यांकअनुसार वाम्बुले भाषा बोल्नेको संख्या १३ हजार ४ सय ७० जना रहेको छ । राष्ट्रिय जनगणना २०७८ बुधबारदेखि सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी तथा परिवारले विवरण टिपाएर जनगणना सुरु भएको हो । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले राष्ट्रपति भण्डारीसँग प्रश्नावली सोधेर ट्याब्लेटमा अंकित गरेका थिए ।
त्यसअघि योजना आयोगका सदस्य रामकुमार फुयाँल र सचिव केवलप्रसाद भण्डारीले जनगणनाबारे संक्षिप्त चर्चा गरे । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा परिवार र उपराष्ट्रपति नन्दबहादुर पुन परिवारको छुट्टाछुट्टै तथ्यांक लिइएको थियो । प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली परिवारको पनि तथ्यांक लिइएको छ ।
‘महिला पनि घरमूली हुन्छन् भन्ने पहिलो दिनकै जनगणनाबाट देखिएको छ,’ निर्देशक लामिछानेले भने, ‘पूर्वप्रधानमन्त्री ओलीको परिवारमा राधिका शाक्य म्याडम घरमूली रहेर जनगणना लिइएको छ ।’ जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटिएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।