अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि जारी छनौट खेल अन्तर्गत आजदेखि युरोपियन महादेशमा अन्तिम चरण अन्तर्गत पहिलो चरणका खेल हुँदैछन् । यस महादेशमा अब अन्तिम दुई खेल मात्रै हुन बाँकी छन् । जसमा यस चरणमा आज पहिलो दिन जम्मा १० खेलहरू हुँदैछन् । आज हुने खेलमध्ये रसिया, स्वीडेन, जर्मनी, क्रोएसिया, स्पेन, पोर्चुगल लगायत देशले पनि आ–आफ्नो खेल खेल्दैछन् ।
यता, समूह ‘बी’मा रहेको स्पेनले आज आफ्नो खेल ग्रीससँग खेल्दै छ । अवे मैदानमा हुने यो खेल जितेको खण्डमा स्पेन आजै राति विश्वकपमा छनौट हुनेछ । उसलाई अब मात्रै एक जित आवश्यक छ । आज जिते अन्तिम खेलसम्म उसले पर्खिनुपर्ने छैन । आज यस समूहबाट स्वीडेनले जर्जियाको सामना गर्दैछ । यदि आज स्पेनले ग्रीसलाई हरायो र स्वीडेनले जर्जियाँग बराबरी मात्रै खेले पनि यी दुवै टोली विशवकपमा छनौट हुनेछन् ।
अहिले समूह ‘बी’ मा स्वीडेन १५ अंकका साथ शीर्ष स्थानमा छ भने स्पेनको खातामा १३ अंक छ । तेस्रो स्थानमा रहेको ग्रीसको खातामा ९ अंक छ । यता, आजै अर्को समूह ‘एच’मा क्रोएसियाले माल्टा र रसियाले साईप्रसको सामना गर्दैछ । अंक तालिकामा हाल रसिया १९ अंकका साथ शीर्ष स्थानमा छ भने क्रोएसिया १७ अंकका साथ दोस्रो स्थानमा छ । यी दुई देशले आज राति आफ्नो खेलमा बराबरी गरे मात्रै पनि दुवै विश्वकपमा छनौट हुनेछन् ।
आजको अर्को महत्त्वपूर्ण खेलमा क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले अवे मैदानमा आयरल्यान्डको सामना गर्दैछ । समूह ‘ए’मा हाल एक खेल बढी खेलेको सर्बिया १७ अंकका साथ शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको पोर्चुगल १६ अंकका साथ दोस्रो स्थानमा छ । सर्बिया र पोर्चुगल दुवैलाई २ खेलबाट मात्रै १ अंक भए विश्वकपमा छनौट हुन पर्याप्त हुनेछ । सर्बियाले अब एक खेल मात्रै खेल्न बाँकी छ । तर, पोर्चुगलले दुई खेल खेल्न बाँकी छ ।
आज राति हुने १० खेल नेपाली समयमा–
अजरबैजान भर्सेस लक्जेमवर्ग – राति १०ः४५ बजे
अर्मानिया भर्सेस नर्थ म्यासेडोनिया – राति १०ः४५ बजे
रसिया भर्सेस साईप्रस – राति १०ः४५ बजे
जर्जिया भर्सेस स्वीडेन – राति १०ः४५ बजे
स्लोभाकिया भर्सेस स्लोभेनिया – राति १ः३० बजे
रोमानिया भर्सेस आइसल्यान्ड – राति १ः३० बजे
जर्मनी भर्सेस लिइच्टेन्सटेइन – राति १ः३० बजे
माल्टा भर्सेस क्रोएसिया – राति १ः३० बजे
ग्रीस भर्सेस स्पेन – राति १ः३० बजे
आयरल्यान्ड भर्सेस पोर्चुगल – राति १ः३० बजे