सत्ता गठबन्धन दलको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनको विषयले बैठकमा प्रवेश नै नपाएको स्रोतको दाबी छ । दलका नेताहरू प्रधानन्यायाधीश प्रकरणमा मौन रहेको आरोप लागि रहेको बेलामा केही निर्णय आउँछ भन्ने आस गरिएको थियो तर सत्ता गठबन्धनले चोलेन्द्र प्रकरणमा केही बोलेन ।
सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् भने नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको छ ।
दलहरूको मौनताबारे प्रश्न उठेपछि सत्तारुढ दलका नेताहरूले गठबन्धनको आगामी बैठकमा छलफल गर्ने बताएका थिए । तर सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलको बैठकमा यो विषयले प्रवेश नै पाएन ।
बैठकले सरकार सञ्चालनमा सहयोग गर्न ११ सदस्यीय समन्वय समिति बनाएको छ । साथै आसन्न राष्ट्रियसभा चुनावमा मिलेर जाने सहमति भएको एक नेताले बताए ।
राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुनमा सकिँदै छ, उनीहरूमध्ये १९ जना निर्वाचनमार्फत चयन हुनेछन् । उक्त चुनावको मिति भने तय हुन बाँकी छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।