लक्ष्मी माता सुद्ध मनले स्मरण गरेर राम्रो कर्म गरेमा मात्र पनि प्रसन्न हुने हाम्रा ग्रन्थहरूमा उल्लेख छ । आफ्नू सक अनुसार लक्ष्मीलाई पूजा आराधना गर्न सकिन्छ । विभिन्न गरगहना सहीत लक्ष्मी मातालाई आराधना गरे माता प्रसन्न हुने विश्वास छ ।
तिहारमा काग,कुकुर ,गाई—गोरुको पूजासँगै लक्ष्मीको पनि पूजा गरिन्छ । कार्तिक कृष्ण औँसीको दिन घरलाई सफासुग्घर पारेर लिपपोत गरी दीपावली गरेर लक्ष्मी पूजा गर्दा धनधान्यले परिपूर्ण भई आरोग्य प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।
यसैगरी धन्तेरसको दिन पनि लक्ष्मीको विधिपूर्वक पूजाआजा गरिन्छ । हिन्दु धर्ममा हरेक देवताको निश्चित चिह्न ,पदार्थ,फूल,विरुवा,पात,खानेकुरा,चरा,जनावर सम्बन्धित भएको देखाएको छ । यो सम्बन्धको विशेष महत्व छ । यी सम्बन्धित कुरा शुद्ध र पवित्र पनि मानिन्छ् । यसले देवीदेवतालाई प्रशन्न पार्ने काम पनि गर्छ । लक्ष्मीसँग कुनकुन कुरा सम्बन्धित छ त ?
कमलको फूल:
भगवानले कमलको फूल निकैनै मनपराउनुहुन्छ । लक्ष्मीको आफ्नो आसनमा मात्र होइन दुवै हातमा कमलको फूल हुन्छ । यसैगरी कमलको कोपिलालाई माला बनाएर लगाउनुहुन्छ । यही कारणले गर्दा कमलको फूललाई पवित्र मानिन्छ । लक्ष्मीलाई खुसी पार्ने सबैभन्दा ठूलो कुरा कमलको फूलनै हो ।
श्री :
हिन्दु धर्ममा श्री लाई धन र पवित्र चिह्नको रुपमा लिइन्छ यसलाई लक्ष्मीको रुपमा प्रयोग गरिन्छ अर्थात श्री भनेकै लक्ष्मी हो । त्यसैले लक्ष्मी पूजाको समयमा भित्ता र भुईमा श्री लेख्ने गरिन्छ ।
दियो बाल्ने:
अन्धकारमा कहिल्यै पनि लक्ष्मी आउँदिनन् । त्यसैले तिहारलाई उज्यालो चाड पनि भन्ने गरिएको हो । औँसीको रातमा उज्यालो पार्न दियोको महत्वपूर्ण भूमका हुन्छ । अन्धकारलाई हटाउन दियो बाल्ने चलन वैदिन कालदेखि नै रहेको थियो । त्यसैले दियो लक्ष्मीलाई खुसी पार्ने अर्को चिज हो ।
स्वस्तिक चिह्न :
स्वस्तिक चिह्न लक्ष्मीलाई मनपर्ने चिह्न हो । लक्ष्मी पूजाको समयमा लक्ष्मीलाई घरभित्र भित्राउन घरको मूल ढोकामा स्वस्तिक चिह्न बनाइन्छ।
लक्ष्मीलाई मनपर्ने अर्को चिह्न हो ॐ। सबै लक्ष्मीका मन्त्र ॐ बाट नै सुरु भएका छन् । ॐ वैदिन मन्त्र हो र यो सर्वब्यापी छ ।
कौडा :
पहेँलो कौडा लक्ष्मीलाई धेरैनै मनपर्छ । धनी र गरीब सबैले पहेँलो कौडा सजिलै पाउन सक्छन् । लक्ष्मीलाई खुसी पार्न पूजा गर्दा पहेँलो कौडा प्रयोग गर्न सकिन्छ ।
नरिवल:
धेरै नरिवलको माथिल्लो भागमा तीनवटा थोप्ला हुन्छ तर एउटै मात्र थोप्ला भएको नरिवल पाउन धेरै गाह्रो हुन्छ । यो नरिवललाई लक्ष्मीको प्रतिकका रुपमा लिइन्छ । यो नरिवललाई खानको लागि भन्दा पनि लक्ष्मीको साधनाको लागि प्रयोग गरिन्छ ।
अन्न:
मानिसको लागि अन्न् सबैभन्दा ठूलो सम्पत्ति हो । अन्नको प्रचुरता समृद्धिको सूचक हो । जहाँ लक्ष्मीले वास गर्छिन,त्यहा धनधान्यले पूर्ण हुन्छ भन्ने जनविश्वास छ । अष्टलक्ष्मीमध्य एक लक्ष्मीको नाम धान्यलक्ष्मी पनि हो ।
सुन :
वैदिक कालमा सुनले मुद्राको काम गरेको थियो । धन र समृद्धिको देवी लक्ष्मी भएकाले लक्ष्मीले सुन मन नपराउने कुरै भएन । त्यही भएर लक्ष्मी पूजा गर्दा धनसम्पत्ति रोखेर पूजा गर्ने गरिन्छ ।