शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सत्ता गठबन्धन धोकाधडी हो : महेश बस्नेत


  • सोमबार, कार्तिक १५ २०७८
7.5K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका नेता महेश बस्नेतले अहिलेको सत्ता गठबन्धन धोकाधडी भएको टिप्पणी गरेका छन् । त्यसको पुष्टि कर्णालीमा भइसकेको उनको जिकिर छ ।

प्रेस चौतारी नेपाल सुर्खेतले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘गठबन्धनबीच नै एकअर्कालाई घात गरिरहेका छन् । कर्णालीमै छु, जीवन शाहीका पछिल्ला अभिव्यक्तिले पनि पुष्टि गर्छ, गठबन्धनमा धोकाधडी छ, प्रतिवद्धताहरु पूरा गर्ने वातावरण छैन ।’

नेता बस्नेतले नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दलले सत्तामा आफू मात्र टिकिराख्न एकअर्कालाई विश्वासघात गर्दै आएको आरोप लगाए । पूर्वमन्त्री समेत रहेका उनले कर्णालीमा आलोपालो सरकारको नेतृत्व गर्ने कांग्रेस र माओवादीको सहमति कता हरायो भन्दै यो सत्ताका लागि गरिएको छल र स्वार्थ मात्र भएको दाबी गरे ।

‘उहाँहरूको नियत छताछुल्ल हुँदैछ, देख्नुभयो नि गठबन्धन केका लागि बनेको रहेछ ?’ उनले अगाडि भने, ‘गठबन्धन जति लम्बियो एमालेलाई उत्तिनै फाइदा छ, सत्ता साझेदारका जालझेल र स्वार्थ धमाधम सार्वजनिक हुँदैछन् ।’

नेता बस्नेतले यतिबेला न्यायालयमा देखिएको समग्र विकृति र बेथितिको समाधान गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने धारणा राखे । उनले एमाले प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव लैजाने पक्षमा भने नरहेको प्रष्ट पारे ।

बस्नेत दैलेखको गुराँस गाउँपालिकामा एमालेको गाउँ कमिटी अधिवेशनलाई सम्बोधन गर्न जाने क्रममा वीरेन्द्रनगर आएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा