प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन् ।
आज (बिहीबार) बिहान १० बजेका लागि बोलाइएको बैठकमा संसद्को गतिरोध हटाउने विषयमा छलफल हुने जनाइएको छ । छलफलका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूका नेतालाई प्रधामन्त्रीले बैठकमा बोलाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने उक्त बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले, सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र अन्यमा लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बोलाइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभामा निरन्तर अवरोध गर्दै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाको भूमिका चित्तबुझ्दो नभएको भन्दै उसले प्रतिनिधि सभाका बैठकहरु अवरुद्ध गर्दै आएको हो ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक विघटन गरेर सर्वोच्च अदालतद्वारा पुनस्र्थापना भएको प्रतिनिधिसभा चल्न नदिनेमा एमालेको नियोजित रणनीति नै देखिएको सत्तापक्षका नेताहरु बताउने गरेका छन् ।
संसदमा जारी अवरोध अन्त्यका लागि प्रम देउवाले कानुन तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमाले अध्यक्ष ओलीसँग भेट्न पठाएर वातावरण सहज बनाउन खोजे पनि ओलीले सकारात्मक सन्देश दिएका थिएनन् । यसै विषयमा छलफलका लागि देउवाले आज सर्वदलीय बैठक बोलाएका छन् ।