काठमाडौँ – नेकपा (एमाले) स्थायी कमिटी बैठक बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको सभा हलमा अपराह्न ४ बजे स्थायी कमिटी बैठक बस्नेछ।
अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
आजको स्थायी कमिटी बैठकका दुई वटा अजेन्डा रहेका छन् । बैठकमा वडा र स्थानीय तहको अधिवेशनको रिपोर्टिङ र समीक्षा हुने कार्यालय सचिव तामाङले बताए।
त्यस्तै, आगामी राष्ट्रिय महाधिवेशन पनि स्थायी कमिटी बैठकको अजेन्डा रहेको छ। जसमा महाधिवेशनको मापदण्ड र कार्यकालिकाबारे छलफल हुने भएको छ।
बाढी तथा पहिरो प्रभावित क्षेत्र बाहेक देशभर एमालेका वडा र स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ। अब जिल्ला र प्रदेश अधिवेशन हुनेछ।
त्यसपछि मंसीरमा राष्ट्रिय महाधिवेशन हुने तय गरिएको छ।
उक्त बैठकमा एमाले सचिव योगश भट्टराई भने उपस्थित नहुने भएका छन् । तेश्रो धारका नेताका रुपमा स्थापित भट्टराई १० भाइ मध्ये १ हुन् ।
उनी अस्वस्थ भएकाले बैठकमा उपस्थित नहुने उनको सचिवालयले जनाएको छ । नेकपा एमाले विभाजन हुँदा माधवकुमार नेपालसँग नगएका उनीसहित १० जना स्थायी समिति सदस्यहरुलाई ओलीले पेलेरै लगेका छन् ।
पार्टीलाई एकताबद्ध राख्ने भन्दै कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनमा लफडा भएपछि १० भाई रुष्ट भएका छन् । उनीहरुले एमालेको १०औँ महाधिवेशन अन्तरगतले वडा र पालिका अधिवेशन बहिस्कार गरेको संकत गरेका छन् ।