नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा देखिएको विवादको विषयमा गठबन्धनले एक-दुई दिनमा धारणा बनाउने बताएका छन्।
मंगलबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाअभियोग लगाउने विषयमा गठबन्धनमा चर्चासमेत नभएको बताए।
‘न्यायालयमा देखिएको विवादका सम्बन्धमा गठबन्धनका तीन दल बसेर सामान्य कुरा त भयो। पाँचै दल बसेका छैनौं,’ उनले भने, ‘एक-दुई दिनमा हामी बसेर धारणा बनाउँछौं।’
अध्यक्ष प्रचण्डले न्यायालयको स्वतन्त्रतामा कहिँ कतैबाट आँच नआओस् भनेर सबै सतर्क बन्नु पर्ने बताए।
‘कांग्रेसको कोटाबाट मन्त्री बनेका व्यक्तिको विषयमा विवाद बढेपछि मैले यही ठाउँमा आएर यस विषयमा बोलेको थिएँ। उहाँले राजीनामा पनि दिनुभयो तर त्यहाँबाट बढेको विवाद चर्किएको छ,’ उनले भने, ‘हामी के कुरामा दृढ छौं भने राज्यका महत्वपूर्ण अंगहरू कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका सबैले आफ्नो स्वतन्त्रता र गरिमाको ख्याल राख्नुपर्छ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।