शनिबार, साउन ३० २०८३
ताजा अपडेट

ओलीका ज्योतिषी बुवाको ठोकुवा : छोरो फेरी प्रधानमन्त्री बन्छ,अझै २० वर्ष कालले लान सक्तैन !


  • सोमबार, कार्तिक ८ २०७८
14.6K
SHARES

फाइल तस्विर

प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीले आफ्नो छोराले पुनः पाँच वर्ष एकलौटी सरकार चलाउने बताउँदै अझै २० वर्षसम्म स्वस्थ रहने समेत ठोकुवा गरेका छन् ।

गृह जिल्ला झापामा रहेका बुवा मोहनप्रसादलाई भेट्न ओली आइतबार पुगेका थिए । छोरालाई भेटेपछि मोहनप्रसादले सञ्चारकर्मीसँगको कुराकानीमा आगामी चुनावमा आफ्नो छोराले जितेर पुनः ५ वर्ष एकलौटी सरकार चलाउने दाबी गरे ।

अध्यक्ष ओली जहिल्यै झापा आउँदा पिता भेट्न भद्रपुर-१ स्थित पृथ्वीनगरको घरमा पुग्छन् । २०५४ सालपछि बनेको दुई तले घरमा ओली आउँदा छरछिमेकदेखि नेता कार्यकर्ताको चहलपहल हुन्छ ।

यसपालि त्यस्तै चहलपहल थियो । घरमा बुढा बा भएकाले उनका समकालीन एवं संगतमा रहेका वृद्ध पनि ओली आउने भनेपछि भेला भएका थिए । भद्रपुर विमानस्थलबाट घर पुगेपछि ओलीले झण्डै पौने घण्टा बुवा तथा छरछिमेकसँग भेटघाटमा बिताए ।

ओलीले परिवारका सदस्यदेखि छिमेकी र नेता कार्यकर्तासँग हालखबर सोध्नेदेखि फोटो खिचाउनेसम्म सहज रुपमा गरे । एकातिर ओली थिए भने अर्कोतिर उनका पिता मोहन बसेर भलाकुसारी गरे । ओलीलाई भेटेका छरछिमेकको भनाइमा ओलीले सञ्चोबिसञ्चो हाल खबर सोधेका थिए । उपस्थित स्थानीयका गुनासा पनि सुनेका थिए ।

वृद्ध छिमेकी कर्णबहादुर कार्कीले ओलीले सञ्चो/विसञ्चो सोधेको बताए । छिमेकी मन्दिरा कोइरालाले पनि ओली जहिल्यै आउँदा भेट हुने गरेको र गाउँलेका गुनासो सुन्ने गरेको बताइन् ।

पिता मोहनप्रसादले केपीले राम्रै छ भनेर सोधेको बताए । आफ्नो छोरासँग बेलाबेला कुरा हुने गरेको र काठमाडौं बोलाउने गरेको बताए । ‘तर म काठमाडौ जान्न । उता घुम्न पाइन्न । घरभित्रै थुनिनुपर्छ । यहाँ घुम्न पाइन्छ । ओखती उपचारमा सहयोग गर्नुपर्छ । छोरासँग बेलाबेला फोनमा कुरा हुन्छ । काठमाडौं बोलाउँछ । तर मलाई यतै ठिक लाग्छ । यता एक्लै डुल्न पाइन्छ । उता निस्किन पनि पाइँदैन,’ उनले सुनाए ।

मोहनले केपी ओली फेरि प्रधानमन्त्री बन्ने योग रहेको पनि बताए । ‘मेरो आशिर्वाद पनि छ । भएपछि अब ५ वर्षलाई हुन्छ । फागुनपछि हुने योग छ । एमाले पहिलो पार्टी हुन्छ । एकदम राम्रो योग छ । सफल होस्, मेरो शुभकामना छ,’ उनले भने ।

मोहनले छोरा फेरि प्रधानमन्त्री हुने बताइरहँदा घरभित्रबाट निस्किएका अध्यक्ष ओलीले ‘बुवा म जान्छु है’ भनेर नमस्ते ढोग गरेर विदा भए । मोहनले राम्ररी गएस् भनेर आशिर्वाद दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा