काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्रपति बनाउन लागिएको खबर बाहिरिएको छ । खनाललाई राष्ट्रपति बनाउने सहमती मोटामोटी रुपमा भइसकेको गठबन्धन निकट स्रोतले दाबी गरेको हो ।
खनालले केपी शर्मा ओलीले पार्टी फुटाएर आफुहरुलाई केही फरक नपरेको जिकिर गरेका छन् । पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आगामी निर्वाचनमा अहिले विद्यमान रहेको पाँच दलीय गठबन्धन कायम रहने विश्वास दिलाए ।
उनले भने,‘सकेसम्म हामी पाँच दलीय गठबन्धन कायम गरेर निर्वाचनमा जान्छौं ।’ उनले वर्तमान सरकारले राम्रो काम गरिरहेको पनि विश्वास दिलाए । नेपालले एमसीसी सम्झौता गर्दा अपरिपक्वता भएको उनको टिप्पणी छ ।
उनले भने,‘यो सम्झौतामा कतिपय यस्ता ब्लण्डर छन्, यसलाई जस्ताको त्यस्तै राखियो भने देशमा आँच आउँछ । गलत प्रावधान हटाउनुपर्छ ।’ उनले एमसीसी संशोधन नगरी संसद्बाट पारित गर्न नहुने पनि तर्क गरे ।
पत्रकार धमलाले तपाईँ राष्ट्रपति बन्ने भनेर गठबन्धनको बीचमा सहमति भएको हो ? भनेर सोधेको प्रश्नमा नेता खनालले भने–‘मलाई थाहा छैन, त्यो चाहीँ परिस्थितिले के के सम्भावना बढाएर ल्याउँछ, त्यसलाई समात्ने कुरा हुनसक्ला । अहिले म त सामान्य रुपले उपचार गरेर आएको छु । राम्रो स्वास्थ्य बनेको छ । बन्दैछ ।
यो स्वास्थ्यलाई मैले एयरपोर्टमा आउँदा आउँदैपनि घोषणा गरेको छ कि मेरो यो नाफाको जिन्दगी हो । त्यसकारण म देश र जनताको लागि राम्रो काम गर्नेछु । जनता र मेरो पार्टीले जुन ढंगले मलाई उपयोग गर्छ, त्यो म गर्न तयार छु ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।