शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

खेलाडीसँग किन फर्केनन् पर्दापछाडीका हिरो अलमुताइरी ?


  • मंगलबार, कार्तिक २ २०७८
13.9K
SHARES

फाइल तस्विर

काठमाडौं : माल्दिभ्समा आयोजना भएको १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार नेपाल आइपुगेको छ ।

तर, नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आएनन् । कुवेतका फुटबल म्यानेजर अलमुताइरी माल्दिभ्सबाटै कुवेत गएका छन् । त्यहाँ उनी परिवारसँग केही समय बिताएर नेपाल फर्किने अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ ।

साफ च्याम्पियनसिपपछि मुख्य प्रशिक्षकबाट राजीनामा दिने र नेपाल कहिल्यै नफर्किने घोषणा गरेका उनी नेपाल आएर नेपाली टोली सम्हाल्न राजी भएको एन्फा स्रोतले जनाएको छ ।

अलमुताइरी सन् २०२२ को फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कपअन्तर्गत दोस्रो चरणको छनोटका लागि नेपाली टोली सम्हाल्न नेपाल आएका थिए । प्रो–लाइसेन्स प्राप्त अलमुताइरी २०७७ चैतमा नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

माल्दिभ्सको राजधानी मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित हुँदै उपविजेता बनेको थियो ।

फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट विमुख भएको थियो । तर, पहिलो पटक साफ च्याम्पियनसिपको उपविजेता बनेर नेपालले इतिहास भने रच्न सफल भयो ।

पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो । लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । यस्तै भारतसँग पराजित भएको नेपालले बंगलादेशसँग बराबरी खेलेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा