तीन दिनदेखिको लगातारका बर्सातका कारण सेती नदीले उग्र रुप लिएको छ । सेती नदीको बहाब बढेर दुई जिल्ला अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको मोटर पुल खतरमा परेको छ । नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ ।
सेती नदीमा आएको बाढी पुलमाथि पुग्न थलेको दिपायल सिलगढी नगरपालिका–२ दिपायलका स्थानीयवासी चन्द्र पाठकले बताए । उनले भने, “नदीमा पानी निकै बढेर पुल छोएको छ, बाढी लगातार बढे पुल नै खतरामा पर्ने अवस्था सिर्जना भएको छ ।” बाढीले पुल छोएपछि बिहानदेखि उक्त पुलमा सवारी साधन आवतजावतमा रोक लगाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए । उनले भने, “बाढीले पुल छोएकाले सवारी आवागमन बन्द गरेका छौँ ।”
पुलमा आवतजावत बन्द गरिएपछि तराईबाट डोटीको सदरमुकाम सिलगढीलगायत छिमेकी जिल्ला अछाम तथा बाजुरा जानका लागि आएका दर्जनौँ सवारी साधन पिपल्ला बजारमा रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायल कुल्पातेले जनाएको छ । सेती नदीमा आएको बाढीका कारण सो वरपरका बस्तीसमेत डुबानमा परेको दिपायल पुलबजारकी स्थानीय मेरिसा परियारले बताए । उनले भने, “सेतीमा निकै ठूलो बाढी आएको छ, बाढी पुल बजारका पसल तथा घरमा समेत पसेको छ, हामी रातभरि सुत्न पाएका छैनौँ ।”जिल्लामा अहिले पनि भारी वर्षा भइरहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।