शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नेपाललाई झड्का : मुख्य प्रशिक्षक अलमुताइरीलाई फाइनलमा प्रतिबन्ध


  • शनिबार, असोज ३० २०७८
10K
SHARES

फाइल

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको साफ च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएका छन्। प्रतियोगिताको लिग चरणका दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको हो।

दक्षिण एसियाली फुटबल (साफ) ले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड पाएमा खेलाडीले अर्को खेल खेल्न नपाउने उल्लेख छ। खेलका क्रममा रातो कार्ड पाएमा भने अफिसियलले पनि अर्को खेल गुमाउने नियमावलीमा उल्लेख छ। तर, साफले अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड पाएको कारण देखाउँदै फाइनलमा प्रतिबन्ध गरेको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे साफको निर्णयका विषयमा पत्राचार पनि गरिसकेको जनाइएको छ। एन्फाले प्रतियोगिता नियमावली अनुसार अलमुताइरीलाई प्रतिबन्ध लगाउनु उचित नभएको भन्दै साफलाई पत्राचार गरेको एन्फा स्रोतले जनाएको छ। तर, यस बारे साफले अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन।

साफको नयाँ नियमकै कारण अलमुताइरीले फाइनलअघि शुक्रबार भएको प्रिम्याच कन्फरेन्समा अनुपस्थित भएको बुझिएको छ। खराब मौसमका कारण भर्चुअल रुपमा आयोजना गरिएको प्रिम्याच कन्फरेन्समा अलमुताइरीका स्थानमा सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाली टोलीको रणनीति र योजनाका बारेमा बोकेका थिए।

एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन नियमावलीमा कुनैपनि व्यक्तिले कुनै पनि प्रतियोगिताका दौरान दुई खेलमा पहेंलो कार्ड भएमा अर्को खेल गुमाउने उल्लेख छ। सो नियमावलीमा प्रतियोगिताका आयोजकले आफ्नै नियम बनाएमा त्यसलाई परिवर्तन गर्न सकिने उल्लेख छ। साफको नियमावलीमा भने अफिसियललाई दुई फरक खेलको पहेंलो कार्ड पाएमा प्रतिबन्ध लगाउन सकिने भन्ने उल्लेख गरिएको छैन।

प्रमुख प्रशिक्षक अलमुताइरीले लिग चरणमा श्रीलंका र बंगलादेशविरुद्धको खेलका क्रममा पहेंलो कार्ड पाएका थिए। यसअघि प्रतियोगिताको यसै नियम अनुसार नेपालका स्ट्राइकर अञ्जन विष्टले पनि फाइनल खेल गुमाउने भएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा