शनिबार, साउन ९ २०८३
ताजा अपडेट

झण्डै ७० करोडमा आफ्नै केन्द्रीय भवन बनाउँदै काठमाडौं महानगर


  • सोमबार, असोज २५ २०७८
11.7K
SHARES

फाइल तस्विर

काठमाडौं महानगरपालिकाको सुविधा सम्पन्न आफ्नै केन्द्रीय भवन बन्ने भएको छ। भूमिगत तलासहितको ८ तले सो भवनको आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका हुन्।

हालको वातावरण विभाग रहको जमिनको करिब ६ रोपनी क्षेत्रफलमा सो भवन भन्न लागेको हो।

भवनको शिलान्यास गर्दै प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिवद्धता अनुसार नै उक्त भवन शिलान्यास गरेको जानकारी दिए। हामी निर्वाचित भएर आएपछिको पहिलो बैठकमा काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्छौं भनेर घोषणा गरेका थियौं,’ शाक्यले भने,‘सेवाग्राहीले सेवा लिने ठाउँ सेवाग्रही मैत्री हुनुपर्छ भनेर त्यही अनुसार अहिलेको हरिभवनमा केन्द्रीय कार्यालय बनाउन चाहेका थियौं। विभिन्न कारणले त्यहाँ केन्द्रीय भवन बनाउन सम्भव भएन। आज केन्द्रीय भवनको यहाँ शिलान्यास भयो। उद्घाटन हाम्रो यो कार्यकालमा हुँदैन। तर, अहिले हामीले गरेका काम स्थानीय सरकारको जग हुन्।’

उनले हरिभवनलाई बागदरबार भनेर विवाद झिक्दै त्यहाँ भवन निर्माण गर्न नदिएकोप्रति पनि गुनासो गरे।

उनले राम्रो कामको सुरूआत गर्न समयसीमा नहुने भन्दै आफ्नै कार्यकालमा शिलान्यास हुँदा खुसी लागेको बताए।

‘रूख रोप्नु ठूलो कुरा हो,’ उनले भने, ‘यो भवन हाम्रो यो कार्यकालमा सम्पन्न हुँदैन। त्यसैले हामीले रूख रोपेका हौं। रूखको फल कसले खान्छ भन्ने ठूलो कुरा होइन।

उनले सेवाग्रहीले सेवा लिने ठाउँ सेवाग्राही मैत्री हुनुपर्छ भनेर नै सबै वडा भवन नेपाली परम्परागत शैलीको निर्माण गरिरहेको जानकारी दिए।

‘अहिले महानगरपालिकाका कार्यालय धेरै ठाउँमा छरिएर रहेकाले सेवाग्राहीलाई सेवा लिन समस्या हुँदै आएको छ,’ शाक्यले भने, ‘हामीले एउटै थलोबाट भोलि होइन आज, आज होइन अहिले नै सेवा दिनुपर्छ भन्ने प्रतिवद्धता अनुसार हामीले सेवा दिन सकिरहेका थिएनौं। अब यो भवन निर्माणपछि सेवा सहज र सुलभ हुने र सबैले एउटै स्थानबाट सेवा प्राप्त गर्ने अपेक्षा गरेका छौं।’

महानगरपालिकाले दिएको जनकारी अनुसार करिब ६ रोपनी क्षेत्रफलमा बन्ने सो भवनको भूमिगत तलामा ३० वटा गाडी र ८० वटा मोटरसाइकलका लागि पार्किङको व्यवस्था गरिएको छ।

भूकम्प प्रतिरोधी सो भवनको भवन मापदण्ड अनुसार वरिपरि ५ मिटर छाडिएको छ भने भूमिगत तलामा भविष्यमा थप २५ वटा गाडी मेकानिकल प्रविधिबाट थप गर्न सकिने छ।

काठमाडौं महानगरपालिका सहरी योजना आयोगमा उपाध्यक्ष सरोज बस्नेतले काठमाडौं महानगरपालिकाको पहिचान तथा वास्तुशैलीलाई ध्यानमा राख्दै समय सापेक्ष ढंगबाट सो भवनको डिजाइन तयार गरिएको जानकारी दिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा