शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अबदुल्लाह अल्मुताइरीको प्रशिक्षणले नेपाली फुटबलले उचाइ लिँदै


  • मंगलबार, असोज १९ २०७८
10.9K
SHARES

फाइल तस्विर

नेपाली फुटबलमा दशकौँ देखी गोल गर्न खडेरी लागेको अवस्थामा अबदुल्लाह अल्मुताइरीको आगमन सँगै नेपाली फुटबल सुधारिएको प्रस्टै देखिएको छ ।  मालदिभ्समा हिजो भएको साफ च्याम्पियनसिप २०२१ को खेलमा नेपालले लगातार दोस्रो जित हात पारे सँगै उचाइ चुलिएको छ ।

सोमबार राति भएको खेलमा नेपालले श्रीलङ्कालाई ३-२ ले पराजित गरेको हो । नेपालको लागि सुमन लामा, अन्जन विष्ट र आयुष घलानले गोल गरे । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १(० ले पराजित गरेको थियो ।

लगातार दोस्रो जितपछि ६ अंक जोडेको नेपालले शीर्ष स्थानमा रहँदै  फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । श्रीलंकाको भने यो लगातार दोस्रो हार हो ।

निकै प्रतिस्पर्धात्मक भएको खेलमा श्रीलंकाले सुरुआतदेखि नै नेपालमाथि दबाब राख्न खोजे पनि नेपालले बल पोजेसनमा भने सुरुआतदेखि अन्तिमसम्म नै पकड राख्यो ।

मालेस्थित नेशनल स्टेडियममा भएको खेलको ३१औं मिनेटमा सुमन लामाले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । राष्ट्रिय टिमका लागि सुमनको यो पहिलो गोल हो । पहिलो हाफमा नेपालले अग्रता कायमै राख्‍यो ।

दोस्रो हाफको सुरुमै नेपालले गोल थप्यो । ५०औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । अन्जनले रिबाउण्ड बलमा गोल गरेका हुन् ।

५६औं मिनेटमा श्रीलंकाका ह्यामिल्टनले गोल गर्दै गोल अन्तर कम पारेका थिए । त्यसपछि दुवै टिमले खेलमा गोल गर्ने केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।

सन्तोष तामाङले श्रीलंकन गोलकिपर सुजन परेरासँग वान भर्सेस वानमा गोल गर्न सकेनन् । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका आयुष घलालनले ८३औं मिनेटमा गोल गर्दै नेपाललाई ३(१ को अग्रता दिलाए । त्यसअघि पनि उनले गोलको अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । आयुषले राष्ट्रिय टिमका लागि गरेको यो पहिलो गोल हो ।

इन्जुरी टाइमको तेस्रो मिनेटमा श्रीलंकाका डिलोन डे शिल्भाले गोल गर्दै गोल अन्तर घटाए पनि हार टार्न पर्याप्त भएन । शिल्भाले पेनाल्टीमा गोल गरेका हुन् ।

पाँच टिमबीच राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा भइरहेको प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेल असोज २४ गते भारतसँग खेल्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा