माधव कुमार नेतृत्वको नेकपा (एकिकृत समाजवादी) पार्टीको उदयपुर–काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा इन्दिरा पोखरेल चयन भएकी छिन् ।
शनिवार तिलगंगा स्थित आनन्द पशुपति होटलमा भएको ‘सम्पर्क मञ्च समाहित, घोषणा तथा चाड–पर्व शुभकामना’ कार्यक्रमबाट अध्यक्षमा पोखरेल चयन भएकी हुन् ।
नेकपा (एकिकृत समाजवादी) पार्टीले देशभर आफ्नो संगठन विस्तारलाई जोड दिइरहेको छ । नगर, क्षेत्र, जिल्ला हुँदै पार्टीका विभिन्न कमिटी निर्माण गरिरहेको र सोही क्रममा शनिवार उदयपुरबाट काठमाडौँलाई कर्मभूमि बनाइरहेका पार्टीका क्रियाशील कार्यकर्तालाई जोड्नका लागि पोखरेलको नेतृत्वमा ७१ सदस्य कमिटी गठन गरिएको जनाईएको छ ।
शनिवार नै पोखरेल नेतृत्व ७१ सदस्य पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ गराइएको छ । उपस्थित नेकपा (एस) का नेताहरूले खादा, अबिरद्वारा निर्वाचित पदाधिकारीलाई बधाई दिएका थिए ।
कार्यक्रमको सभापतिमा नेकपा (एकिकृत समाजवादी) का प्रदेश सम्पर्क संगठन सदस्य विनोद खड्का, प्रमुख अतिथिमा नेकपा (एकिकृत समाजवादी) का उप महासचिव प्रकाश ज्वाला रहेको थिए ।
यस्तै कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) का पोलिटव्युरो सदस्य तथा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, नेता बखुराज बस्नेत, दुर्गा परियार, अम्बिका थापा लगायत नेकपा (एस) का नेता, कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै पोलिटव्युरो सदस्य बलदेव चौधरीले इन्दिरा पोखरेल नेतृत्वको नवनिर्वाचित टिमलाई बधाई दिएका थिए । उनले भने, ‘म यो गर्न सक्छु, म यो रूपान्तरण गर्न सक्छु भन्ने अठोटका साथ लाग्नुस् । त्यसको लागि हामी साथमा छौँ । तपाईँलाई कसैले रोक्न सक्दैन ।’
चौधरीले भने, ‘लोकतन्त्र रक्षा, संविधान रक्षा, कम्युनिस्ट आन्दोलन रक्षा, संघिय लोकतन्त्र गणतन्त्र रक्षा र समाजवाद स्थापना गर्नका लागि नेकपा (एकिकृत समाजवादी) पार्टीको स्थापन गरेको हो । यस कदममा आम नागरिकको पूर्ण समर्थन रहने विश्वास लिएका छौँ ।’
कार्यक्रम दिउसो ३ बजेदेखि बेलुका ६ बजेसम्म चलेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।