शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

महन्थ ठाकुर भन्छन मधेसलाई स्वशासनको अधिकार नदिई विकास हुँदैन


  • सोमबार, असोज ४ २०७८
11.1K
SHARES

फाइल तस्विर

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनमार्फत मधेसी जनतालाई अधिकार सम्पन्न नबनाएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

आइतबार पकहामैनपुर गाउँपालिकामा शहीद शत्रुधन पटेलको छैठौं स्मृति दिवसमा उनले मधेसमा स्वशासनको अधिकार दिनुपर्ने बताए । ‘संविधानले यस्तो अधिकार दिएको छैन । त्यसैले संविधान संशोधन नै हाम्रो आन्दोलनको माग हो । ’

उनले मधेस आन्दोलनका नेता कार्यकर्तामाथि सरकारले मुद्धा लगाएर विभेद गरेको बताए ।

‘नेपालमा माओवादी जनयुद्ध भयो, हजारौं मानिस मारिए । के तपाईं बताउन सक्नुहुन्छ उनीहरुमध्ये कोही नेता जेलमा छन् ?’ उनले प्रश्न गरे, ‘मधेस आन्दोलन जुन शान्तिपूर्ण थियो, त्यसको नेता कार्यकर्तामाथि किन कारबाही ? किन अहिलेपनि जेलमा छन्, अहिले पनि तारेख धाइरहेका छन् ?’

मधेस आन्दोलनका क्रममा भएका टीकापुर, जलेश्वर घटनाको अनुसन्धान र कारबाही बदलाको भावनाले गरिएको उनले बताए ।

‘मधेसी आन्दोलनकारीले त हतियार उठाएका थिएनन् । हतियार उठाउने हजारौं मान्छे मारेको आरोप लाग्नेलाई सबै आरोपबाट मुक्ति, कोही प्रधानमन्त्री बन्ने, कोही सभामुख बन्ने । मधेसका मानिसले के अपराध गरेका छन्, उनीहरुलाई मुद्धा मामिला खेप्नुपर्ने ?’ उनले प्रश्न गरे ।

तीन वर्षदेखि नागरिकता विधेयक दर्ता भएपनि संसदमा प्रस्तुत गरेर पास गर्नुको साटो अड्काएर राखिएको ठाकुरले गुनासो गरे । न्यायालयले समेत मधेसीलाई विभेद गर्ने गरेको उनको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा